त्रि–चन्द्रमा सक्षम नेपाल निर्माणका लागि युवा नेतृत्व,नवप्रवर्तनबारे ‘उद्यमशीलता सम्मेलन’ हुने
काठमाडौं । नेपाल विद्यार्थी संघ त्रि–चन्द्र बहुमुखी क्याम्पस इकाई समितिले ‘उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ। कार्यक्रममार्फत नेपाली युवालाई केवल रोजगारी खोज्ने मानसिकताभन्दा माथि उठेर अवसर सिर्जना गर्ने उद्यमशील नेतृत्वतर्फ प्रेरित गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
इकाई समितिका अध्यक्ष अमृत बहादुर शाहीले जारी गरेको अवधारणापत्रमा विश्वका सफल राष्ट्रहरूले विश्वविद्यालय र विद्यार्थी राजनीतिलाई केवल आन्दोलनको माध्यमका रूपमा नभई नवप्रवर्तन, नेतृत्व विकास तथा उद्यमशीलता उत्पादन गर्ने केन्द्रका रूपमा विकास गरेको उल्लेख गरिएको छ।
उनले हार्वर्ड विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय तथा स्ट्यानफोर्ड विश्वविद्यालय जस्ता विश्वप्रसिद्ध विश्वविद्यालयबाट सुरु भएका विद्यार्थी नेतृत्व र नयाँ व्यवसाय स्थापनाको संस्कृतिले विश्व अर्थतन्त्रलाई नयाँ दिशा दिएको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि त्यस्तो बहस आवश्यक रहेको अध्यक्ष शाहीले बताएका छन्।
कार्यक्रमले विद्यार्थीहरूलाई नवप्रवर्तन, उद्यमशीलता, सहकार्य तथा नेतृत्व विकाससँग जोड्दै भविष्यको सक्षम नेपाल निर्माणबारे बहस अघि बढाउने लक्ष्य राखेको जनाइएको छ।अध्यक्ष शाहीका अनुसार ‘आजका युवा, भोलिका उद्यमी’ भन्ने मूल नारासहित आयोजना गरिने उक्त कार्यक्रमले नेपाली युवालाई सिर्जनशील, आत्मनिर्भर र परिवर्तनकारी भूमिकामा अघि बढ्न प्रेरित गर्ने विश्वास लिइएको बताए।
इकाई समितिले विद्यार्थी राजनीतिलाई केवल आन्दोलनमा सीमित नराखी उद्यमशील सोच, सीप र नेतृत्व विकाससँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै युवालाई नयाँ सम्भावना र अवसर सिर्जनातर्फ अग्रसर गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
