क्यान अध्यक्ष चन्दमाथि पद दुरुपयोगको आरोप,५ दिनभित्र जवाफ पठाउन राखेपको निर्देशन

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द विरुद्ध पद दुरुपयोग गरेको लगायतका विभिन्न किसिमका आरोपमा राष्ट्रिय खेलकुद परिषद्ले पाँच दिनभित्र जवाफ दिन निर्देशन दिएको छ ।

राखेपले क्यानलाई पत्राचार गर्दै चन्द विरुद्ध विभिन्न उजुरी परेकाले त्यस विषयमा पाँच दिन भित्र रायरप्रतिक्रिया र प्रमाणित कागजातहरू उपलब्ध गराउन निर्देशन दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८३ वैशाख १६ गते अध्यक्ष चन्द विरुद्ध उजुरी दर्ता भएको थियो। वैशाख २९ गते आयोगले युवा तथा खेलकुद मन्त्रालयलाई यस विषयमा पत्र पठाएको थियो । त्यसपछि मन्त्रालयले वैशाख ३१ गते राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई पत्र लेख्दै १० दिनभित्र जवाफ पठाउन भनेको थियो ।

मन्त्रालयको पत्रमा क्यान अध्यक्ष र कोषाध्यक्ष लगायतका पदाधिकारीहरूले आफ्नो पदीय अधिकारको दुरुपयोग गर्दै सार्वजनिक कोषको अपचलन गरेको, अमेरिकामा भएको विश्वकप भ्रमणमा अनियमितता गरेको, कर्मचारी भर्ना प्रक्रियाको दुरुपयोग गरेको, अपाङ्गता भत्ताको दुरुपयोग गरेको, वार्षिक साधारण सभा र विश्वकप जर्सी तथा टिकटमा अनियमितता भएको लगायतका विषयहरूमा जवाफ मागिएको थियो ।

त्यसपछि राखेपले गत बिहीबार क्यानलाई पत्राचार गरेर चन्दविरुद्ध विभिन्न बुँदामा अख्तियारमा उजुरी परेको र उक्त उजुरीको गाम्भिर्यतालाई अध्ययन गरी उजुरीमा उठाइएको विषयमा बुँदागत रूपमा सत्य तथ्य रायरप्रतिक्रिया एवं सो सँग सम्बद्ध प्रमाणित कागजात विवरणहरू पछिसम्म फरक नपर्ने गरी पठाउन निर्देशन दिएको हो ।