क्रान्तिकारी आन्दोलन अझै जीवित छ, निभ्नेवाला छैन: सीपी गजुरेल
काठमाडौं। क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव सीपी गजुरेलले २५औँ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस तथा पुरस्कार–सम्मान समारोहमा सम्बोधन गर्दै जनयुद्ध, क्रान्ति र सहिदहरूको योगदानबारे धारणा राखेका छन्।
सम्बोधनका क्रममा उनले सहिद कृष्णसेन इच्छुकको बहुआयामिक योगदान स्मरण गर्दै उनी विद्यार्थी नेता, संगठनकर्ता, कवि, सांस्कृतिक अभियन्ता तथा सम्पादकका रूपमा क्रान्तिकारी आन्दोलनमा सक्रिय रहेको बताए। इच्छुकले विभिन्न मोर्चामा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको र आन्दोलनलाई वैचारिक तथा संगठनात्मक रूपमा अगाडि बढाएको उनको भनाइ थियो।
उनले भने, ‘इच्छुक कमरेड एउटा कमाण्डर हुनुहुन्थ्यो। उहाँले विभिन्न मोर्चा कुशलतापूर्वक सञ्चालन गर्नुभयो। विद्यार्थी आन्दोलनदेखि संगठन निर्माणसम्म उहाँ सक्रिय रहनुभयो।
गजुरेलले जनयुद्धको तयारी सचेत रूपमा गरिएको उल्लेख गर्दै त्यसका लागि विभिन्न अध्ययन, गोष्ठी र बैठकहरू गरिएको बताए। उनले त्यसलाई देशको आवश्यक राजनीतिक कदमका रूपमा व्याख्या गरे।
उनले इच्छुकको बेपत्ता घटनाप्रति दुःख व्यक्त गर्दै त्यस घटनाबारे अहिलेसम्म औपचारिक जानकारी प्राप्त हुन नसकेको बताए।
सम्बोधनमा उनले जनआन्दोलन र राजनीतिक परिवर्तनका विभिन्न व्याख्याबारे टिप्पणी गर्दै वर्तमान परिस्थितिलाई विभिन्न शक्ति र विचारधाराबीचको संघर्षका रूपमा चित्रण गरे। उनले क्रान्तिकारी आन्दोलन अझै समाप्त नभएको दाबी गर्दै यसलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।
उनले भने,क्रान्ति निभेको छैन, बत्तीमा तेल कम भए पनि यो निभ्नेवाला छैन। किनभने यो सुरुवात गरेको कृष्णसेन इक्षुकले हो। त्यसकारण धेरै मान्छेलाई एउटा चमत्कार जस्तो भयो तर यो कुनै चमत्कार होइन। त्यो कुनै जनताको जनविद्रोह होइन। हामीलाई इक्षुकको शक्ति यतिखेर चाहिएको छ, त्यो तागत हामीलाई चाहिएको छ।
उनले सहिदहरूको सपना पूरा गर्न संगठनात्मक एकता, वैचारिक स्पष्टता र निरन्तर तयारी आवश्यक रहेको बताउँदै युवाहरूलाई क्रान्तिकारी साहित्य र चेतना निर्माणमा सक्रिय हुन आह्वान गरे।
