५० हजार घुस लिएका प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्धा दायर

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ ।

लागूऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट गएको टोलीले उनलाई ५० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा उनले लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ नगरी मिलाइदिने र सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । उक्त रकम ५० हजार नै बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुद्दा अघि बढाइएको अख्तियारले जनाएको छ।

अख्तियारले सोही ऐनको दफा ३ अनुसार कैद र जरिवाना सजाय माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिएको छ।