जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनुसन्धान गर्न सिफारिस
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वन्यायाधीश एवम् जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगले आफ्नो छानबिन प्रतिवेदन सार्वजनिक गर्दै बुधबार सरकारलाई यस्तो सिफारिस गरेको हो। कार्कीले जेनजी आन्दोलनलाई समर्थन गरेको आयोगको ठहर छ।
आयोगले कार्कीको समेत जेनजी आन्दोलनमा सहभागिता रहेको हुन सक्ने औँल्याएको छ। प्रदर्शनका क्रममा र प्रदर्शनपश्चात कार्कीले जेनजी आन्दोलनको सम्बन्धमा विभिन्न अभिव्यक्ति दिएको सामाजिक सञ्जालबाट पुष्टि भएको आयोगको निष्कर्ष छ।
राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदनमा पनि उनीसहितका व्यक्तिहरू प्रदर्शनमा सहभागी भएको हुन सक्ने उल्लेख गरिएको छ।
आन्दोलनका क्रममा भएका मानवीय र भौतिक क्षतिमा उनीहरूको संलग्नता रहे/नरहेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने कार्य उनीहरूबाट भए/नभएको वा सो कार्यका लागि दुरुत्साहन गरे/नगरेको सम्बन्धमा सूक्ष्म अनुसन्धान गर्न आयोगले माग गरेको छ। साथै, यस विषयमा सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सूचित गराई, उल्लेखित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हक सुनिश्चित गर्दै दोषी देखिए कारबाही गर्न आयोगले सिफारिस गरेको छ।
तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले गठन गरेको ‘जेनजी आन्दोलन जाँचबुझ आयोग’को अध्यक्षमा कार्कीलाई नियुक्त गरेकी थिइन्।
कार्कीले त्यतिबेला सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिका कारण उनले निष्पक्ष अनुसन्धान गर्न नसक्ने दाबी गर्दै सर्वोच्च अदालतमा समेत रिट दायर भएको थियो। त्यस समय सर्वोच्च अदालतले समेत यस विषयमा कार्कीको ध्यानाकर्षण गराएको थियो।
