कांग्रेसले भन्यो-कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट भएको पुष्टि भयो

काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको सरकारी छानबिन आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट भएको पुष्टि भएको बताएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले कार्की आयोगले तयार पारेको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको पुष्टि भएको जिकिर गरेका हुन् ।

मानव अधिकार आयोगको प्रतिवेदनले कार्की आयोगको प्रतिवेदन अपर्याप्त मात्र नभई आयोगका संयोजकमाथि नै प्रश्न उठाएको बताए ।

आम निर्वाचनअघि उक्त प्रतिवेदन सार्वजनिक नगरिनु नियोजित उद्देश्यसहित भएको कांग्रेसको शंकालाई आयोगको निष्कर्षले थप बल पुगेको उनको भनाइ थियो ।

राईले जेनजी आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित भए पनि पछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि भएको उल्लेख गरे ।

आन्दोलनका क्रममा हाल सत्तारूढ दलका सभापति नख्खु कारागारबाट भागेपछि देशभरका २८ वटा कारागार र ९ वटा सुरक्षा गृहमा व्यापक तोडफोड भएको बताए । त्यसक्रममा १४ हजार ५५५ कैदीबन्दी जेलबाट फरार भएको उनको दाबी छ ।