देशको प्रधानमन्त्रीले बोल्दा गम्भीर, संवेदनशील र तथ्यपरक हुनुपर्छ: संयोजक गजुरेल
काठमाडौं। कम्युनिस्ट समाजवादी पार्टीका संयोजक हरिकृष्ण गजुरेलले प्रधानमन्त्री बालेन्द्र शाह ले राष्ट्रिय महत्व र संवेदनशील विषयमा बोल्दा गम्भीर, जिम्मेवार तथा तथ्यपरक हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्री शाहले संसदमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतीय भूमि मिचेको विषय आफू प्रधानमन्त्री बनेपछि मात्र थाहा पाएको बताएका थिए। साथै, उनले भारतसँगको सिमा विवाद बारे नेपालले–बेलायतसँग पनि सीमा सम्बन्धी विषयमा समेत अध्ययन र जानकारी संकलनको काम भइरहेको उल्लेख गरेका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा व्यापक बहस र प्रतिक्रिया सुरु भएको छ। धेरैले राष्ट्रियता र सीमा जस्ता संवेदनशील विषयमा सरकार प्रमुखको अभिव्यक्ति स्पष्ट, तथ्यमा आधारित र कूटनीतिक रूपमा सन्तुलित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
यही सन्दर्भमा गजुरेलले सामाजिक सञ्जालमा एक प्रतिक्रिया जारी गर्दै प्रधानमन्त्रीले सार्वजनिक रूपमा धारणा राख्दा त्यसको राजनीतिक, कूटनीतिक र सामाजिक प्रभावबारे गम्भीर हुनुपर्ने बताएका छन्। उनले राष्ट्रिय हितसँग जोडिएका विषयमा तथ्य पुष्टि गरेर मात्रै अभिव्यक्ति दिन आग्रह गरेका हुन।
गजुरेलले देशको कार्यकारी प्रमुखबाट आउने अभिव्यक्तिले आम नागरिकदेखि अन्तर्राष्ट्रिय समुदायसम्म सन्देश प्रवाह गर्ने भएकाले यस्ता विषयमा थप जिम्मेवारी र संवेदनशीलता आवश्यक रहने बताएका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्त र सामाजिक सञ्जालमा बहस जारी रहेको छ।
यस्ताे छ गजुरेल समाजिक सञ्जालमा लेखेकाे..
देशको प्रधानमन्त्रीले विषयवस्तु प्रस्तुत गर्दा या बोल्दा गम्भीर र संवेदनशील भई तथ्यपरक विषयहरु प्रस्तुत गर्नुपर्दछ।
