प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपालको सीमा समस्याबारे दिएको अभिव्यक्तिलाई राष्ट्रघाती बदनियत भन्दै कडा विरोध गरेको छ ।सोमबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै साम्पाङले प्रधानमन्त्री शाहले “नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ” भन्ने अभिव्यक्ति दिँदै नेपालको सीमा दाबीलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्, “पूर्व तालिका बिना संसद् बैठकमा आएर, रास्वपाका सभापति भारत जानुअघि भारतलाई रिझाउन हो वा जे होस्, कहिल्यै नआउने र नबोल्ने प्रधानमन्त्री सदनमा रोस्टममा उभिएर ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भन्नुले हाम्रो सीमा मिचिएको विषयलाई रफादफा गर्न खोजेको स्पष्ट भएको छ ।
लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउनुपर्ने हाम्रो मागलाई थिचमिच पार्ने र नेपालले भारतलाई धेरै ठाउँमा भूमि छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रष्ट पारेको छ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थिति बारे गम्भीर अस्पष्टता सिर्जना गरेको पनि साम्पाङले बताएका छन् । यसैगरी, उनले नेपाली सेनाको दुरुपयोगको पनि आलोचना गरेका छन् ।
“नेपाली सेनालाई मन्त्रीको ढोका खोल्न र आफ्नै गरिब जनताका सुकुम्वासी बस्तीमा हमला गर्नमै सीमित राख्ने सरकारले सीमानामा सेना पठाउनुको साटो उल्टै नेपालले भारतको सीमा मिचेको भन्नुले यो सरकार सीमा रक्षा र भौगोलिक अखण्डताप्रति प्रतिबद्ध नभएको प्रमाणित हुन्छ,” विज्ञप्तिमा उल्लेख छ ।
श्रम संस्कृति पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट प्रधानमन्त्री तथा सरकारको उक्त अभिव्यक्तिप्रति घोर आपत्ति र विरोध व्यक्त गर्दै साम्पाङले सीमा सुरक्षा र राष्ट्रिय अखण्डताको रक्षाका लागि सरकारलाई गम्भीर हुन आग्रह गरेका छन्।

