बालेनको अभिव्यक्तिलगत्तै सुस्तामा भारतीय एसएसबीको हस्तक्षेप,निर्माणाधीन तटबन्धको काम रोकियो
काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को दबावमा नवलपरासीको सुस्तामा निर्माण भइरहेको तटबन्धको काम रोकिएको छ।
आइतबार प्रधानमन्त्री वालेन शाहले भारतसँगको सिमा समस्याबारे विवादित अभिव्यक्ति दिएलगत्तै एसएसबीको टोलीले नेपाली भूमिमा प्रवेश गरेर नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्याएको हो।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले एसएसबीको दबाबपछि काम रोकिएको पुष्टि गरे। निर्माणस्थलमा आइतबार साँझ ४०–५० जना भारतीय सुरक्षाकर्मी आएर काम रोक्न चेतावनी दिएको जानकारी स्थानीयबाट पाएको उनले बताए।
कटान र डुबानको उच्च जोखिममा रहेको सुस्तालाई जोगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रूपैयाँ लगानीमा नारायणी नदी किनारमा तटबन्ध निर्माण भइरहेको छ । प्रधानमन्त्रीको सम्वोधनको साइड इफेक्ट उक्त क्षेत्रमा परेको उपाध्यायले बताए ।
एसएसबीले पहिल्यैबाट सुस्ताको नेपाली भूमिमा दाबी गर्दै आएपनि नारायणीको तटबन्ध रोक्न आयोजनाको काम भइरहेको थियो । तर हिजोको घटनाले अन्योल उत्पन्न भएको उनले बताए ।
नारायणी नदीको बहाबले गर्दा धेरै समयदेखि स्थानीयले दुःख पाएको उपाध्याय बताउँछन् । कुलमान घिसिङ मन्त्री हुँदा उनले आफैं उक्त स्थानमा पुगेर अवलोकन गराएका थिए ।
‘सुस्ता बचाउ अभियान’ का रवीन्द्र जैसवालले पनि हिजो साँझ भारतीय सुरक्षाकर्मीहरु आएर ‘विवादित क्षेत्रमा काम नगर्न’ भनेर फर्किएको बताए । भारतीय पक्षले दाबी गरेको क्षेत्रभन्दा धेरै वर काम भइरहेको उनको भनाइ छ।
