रविले भारतलाई भने-सीमा विवाद संवादबाट समाधान गरौँ
काठमाडौं। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवादजस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताएका छन्।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स मा मङ्गलवार प्रकाशित लेखमा लामिछानेले उग्र राष्ट्रवादी भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गर्ने पुरानो राजनीतिक प्रवृत्तिको आलोचना गरेका छन् । ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा विवाद समाधान गर्नुपर्ने उनको भनाइ रहेको छ।
‘हामी विगतका कटुताको भारी बोकेर हिँडिरहेका छैनौँ । हाम्रो एकमात्र एजेन्डा नेपालको आर्थिक रूपान्तरण हो,उनले लेखमा उल्लेख गरेका छन् । नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक विवादबाट निकालेर विकास र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने उनको धारणा छ। लामिछानेले नेपालमा भएको राजनीतिक परिवर्तनलाई ‘मतपेटिकामार्फत आएको शान्तिपूर्ण क्रान्ति’ को संज्ञा दिएका छन्।
उनले रास्वपाको उदयलाई नेपालको नयाँ राजनीतिक यथार्थ भन्दै पुराना राजनीतिक दलहरूले सिर्जना गरेको अविश्वास र असन्तुष्टिको विकल्पका रूपमा प्रस्तुत गरेका छन् । लामिछानेले नेपाल र भारत दुई छिमेकी मुलुक नभई साझा सभ्यता र सांस्कृतिक सम्बन्धले जोडिएका साझेदार भएको उल्लेख गरेका छन् ।
उनले रामायणको कथा जनकपुर र अयोध्या जोडिएपछि मात्र पूर्ण हुने, पशुपतिनाथ र केदारनाथ तथा लुम्बिनी र बोधगयाबीचको सम्बन्धले साझा सभ्यताको आधार निर्माण गर्ने उल्लेख गरेका छन् ।
रेलदेखि आईआईटी र एम्ससम्मको प्रस्ताव उनले अघि सारेका छन् । लामिछानेले भारतको तीव्र आर्थिक विकासबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै विभिन्न क्षेत्रमा सहकार्यको प्रस्ताव गरेका छन् । उनले १५० किलोमिटर लामो प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग निर्माण भए नेपाल–भारत व्यापार, पर्यटन र सम्पर्कमा क्रान्तिकारी परिवर्तन आउने बताएका छन् ।
साथै पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेंगलुरुमा सिधा हवाई उडान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
लेखमा उनले भारतका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्थानहरू आईआईटीर एम्सजस्ता संस्थाहरू नेपालमा स्थापना गर्न सहकार्य गर्न आह्वान गरेका छन् ।
त्यस्तै, काठमाडौं–बेंगलुरु डिजिटल करिडोर, प्रविधि प्रयोगशाला, स्टार्टअप इन्क्युबेसन सेन्टर, फिनटेक र डिजिटल भुक्तानी प्रणालीमा सहकार्य गर्न भारतलाई आग्रह गरेका छन्।
नेपालको जलविद्युत् सम्भावना भारतको औद्योगिक विकासका लागि स्वच्छ ऊर्जाको स्रोत बन्न सक्ने उल्लेख गर्दै लामिछानेले एकीकृत ऊर्जा बजार निर्माणमा जोड दिएका छन्। सीमामा रहेका प्रशासनिक अवरोध हटाएर आधुनिक डिजिटल एकीकृत जाँच चौकी ९आईसीपी० निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ।
