भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाइन्सका कर्मचारी ५४ लाखसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँसहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका ग्राउन्ड इक्युपमेन्ट अपरेटर पक्राउ परेका छन् ।

सुनसरी गढी गाउँपालिका–१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने कमलनारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।

उनी १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ग्राउन्ड इक्युपमेन्ट अपरेटरमा कार्यरत थिए ।

उनी सोमबार राति साढे ८ बजे बाटिक एयरको फ्लाइटमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने क्रममा विमानस्थल प्रहरीद्वारा जाँच गर्दा उनको लगेजमा फलामको कराई भित्र विभिन्न देशको मुद्रा भेटिएको हो ।

उनी अहिलेसम्म २६ पटक बाह्य मुलुलक यात्रा गरेको देखिएको प्रहरीको भनाइ छ । प्रहरीले उनको साथबाट नेपाली, अमेरिकी, ओमानी, पाकिस्तानी, मलेसियन, श्रीलंकन, जापानिज, अफ्रिकन मुद्रा फेला परेको हो । रकम ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा बरामद गरिएको छ ।