सर्वोच्चबाट पनि न्यायाधीश भुवन गिरीले पाए सफाइ,उच्च अदालतकै फैसला सदर
काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको मुद्दामा जिल्ला न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको छ। गिरी तत्कालीन दार्चुला जिल्ला न्यायाधीश थिए।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले मंगलबार गिरीलाई सफाइ दिने फैसला सुनाएको हो। यससँगै सर्वोच्चले उच्च अदालत पाटनको यसअघिकै फैसलालाई सदर गरेको छ।
यसअघि, उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २०८१ चैत ३१ गते गिरीलाई सफाइ दिने ठहर गरेको थियो।
त्यसभन्दा अघि जिल्ला अदालत काठमाडौंले भने गिरीलाई दोषी ठहर गर्दै सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिबानाको सजाय तोकेको थियो। जिल्लाको उक्त फैसला उल्टिँदै मुद्दा तहतातह भएर सर्वोच्च अदालत पुगेको हो।
गिरीविरुद्ध उनकी पूर्वपत्नी आरती रावल गिरीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि प्रहरीले गिरीलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो। उच्च अदालतबाट सफाइ पाएपछि न्यायाधीश गिरी यसअघि नै आफ्नो पूर्ववत् न्याय सम्पादनको काममा फर्किसकेका छन्।
