चोरसँग प्रतिवाद गर्दा महोत्तरीमा श्रीमान श्रीमतीमाथि गोली प्रहार
काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा चोरी गर्न आएका व्यक्तिसँग प्रतिवाद गर्दा श्रीमान्–श्रीमती घाइते भएका छन्।
मंगलबार राति घरभित्र पसेर चोरीको प्रयास गरिरहेका ५–६ जना अपरिचित व्यक्तिलाई रोक्ने क्रममा २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवमाथि गोली प्रहार भएको हो।
गोली लागेर दुवै जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ। घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको र घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
