स्रोत नखुलेको ६ लाखसहित उपसचिव पक्राउ

काठमाडौं । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन् । उनी नेपाल सरकारका उपसचिव हुन् ।

३ साउनमा बुद्ध एयरको विमानमा विराटनगरबाट काठममाडौं आउने क्रममा उनलाई पक्राउ परेका थिए । उनी पक्राउ परेको विषय प्रहरीले शुक्रवार मात्रै सार्वजनिक गरेको हो ।

दोलखाको भीमेश्वर नगरपालिका-९ घर भएका तामाङको झोलामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी ६ लाख ६५ हजार रुपैयाँ फेला परेपछि प्रहरीले रकमको स्रोतको खोजी गरेको थियो।

स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो । पक्राउ पर्दा बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेका कारण नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।