सुकुम्बासीको मृत्युपछि रक्षाको आक्रोश: सरकारको अकर्मण्यताले नागरिकको ज्यान गयो

काठमाडौं। जेनजी अभियन्ता रक्षा बमले कीर्तिपुरस्थित होल्डिङ सेन्टरका रहेका एक सुकुम्बासीको मृत्यु भएपछि सरकारको अकर्मण्यता र लापरबाहीका कारण नागरिकले ज्यान गुमाउनुपरेको बताएकी छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको अकर्मण्यता र लापरबाहीका कारण कति जना सुकुम्बासी मर्दासम्म यसलाई सामान्य मानिदिनुपर्ने हो रु भन्दै प्रश्न गरिन्।

उनले लोकतान्त्रिक व्यवस्थामा सरकार नागरिकको अभिभावक हुनुपर्ने भन्दै राज्यको कमजोरीका कारण नागरिकले ज्यान गुमाउनु गम्भीर आत्मसमीक्षाको विषय भएको बताइन्।

‘सरकार अभिभावक र प्रत्येक नागरिक परिवारका सदस्य हुन्। आफ्नो जिद्दी र हठका कारण कुनै परिवारको सदस्य गुम्नु निकै आत्मग्लानिको विषय हो, तर यो जोडी सरकारले देश कुन नागरिकका लागि बनाउँदै छु भनिरहेको हो, त्यो थाहा छैन। उनले लेखेकी छन्।

उनले प्रश्न उठाउने परम्परालाई विकास विरोधी ठान्ने र यस्ता घटनामा मौन रहनेहरू नै गरिब नागरिकले ज्यान गुमाउने अवस्थाका कारक भएको बताइन्।

कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका ३८ वर्षीय भेषराज दर्जीको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो। सोही विषयमा उनले सरकार समक्ष आक्रोश पोखेकी हुन्।

उनी गत १८ गतेदेखि वीर अस्पतालमा उपचाररत थिए। अस्पतालका अनुसार बिहीबार दिउँसो उनको मृत्यु भएको हो।