कैदीलाई होटल लगेर मासु र बियर खुवाउने दुई प्रहरी सेवाबाट बर्खास्त

काठमाडौं । केन्द्रीय कारागार जगन्नाथदेवलमा सजाय काटिरहेका एक कैदीलाई नियमविपरीत होटलमा लगेर मासु,बियर खुवाउनुका साथै युवतीसँग भेट गराएको फेला परेपछि दुई जना प्रहरी कर्मचारी बर्खास्तगीमा परेका छन्।

गत जेठ १ गते केन्द्रीय कारागारमा रहेका कैदी अनुप भण्डारीलाई हतकडी नै नलगाई कारागारबाहिर निकाली होटलसम्म पुर्‍याउने कार्यमा संलग्न प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई सेवाबाट बर्खास्त गरिएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम अधिकारीले घटनाको विषयमा छानबिन गरी दोषी पाइएका दुवै जनालाई बर्खास्त गरिएको पुष्टि गरेका छन्। उनीहरूमाथि आवश्यक छानबिन गरी पदबाट बर्खास्त गरिएको अधिकारीले बताए।

प्रहरी सहायक हवल्दार कुँवर र जवान विकले कैदी भण्डारीलाई ‘अस्पताल लैजाने’ बहाना बनाएर कारागारबाट बाहिर निकालेका थिए। तर, उनीहरूले कैदीलाई अस्पताल लैजानुको साटो होटल पुर्‍याएर मासु र बियर खुवाएका थिए।

यति मात्र नभई, ती प्रहरी कर्मचारीहरूले कैदी भण्डारीलाई होटलमा युवती समेत भेट गराउन सहयोग गरेको छानबिनबाट खुलेको छ। सुरक्षा संवेदनशीलतामा गम्भीर लापरबाही गर्दै कैदीलाई बाह्य गतिविधिमा संलग्न गराएको र व्यावसायिक आचरण उल्लंघन गरेको ठहर गर्दै प्रहरीले उनीहरूमाथि तत्काल कारबाही प्रक्रिया अगाडि बढाएको हो।