मधेशलाई सधैँ अधिकार नदिने षड्यन्त्र भइरह्यो: सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत)ले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन् ।

सोमवार माईतीघरमा जनमत पार्टीले गरेको प्रदर्शनमा सम्बोधन गर्दै उनले नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेशका मागप्रति अनुदार हुने गरेको बताएका हुन्।

उनले मधेशबाट मत लिएर सरकार बनाउने तर मधेसका अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको आरोप लगाए। राणा शासनकालमा मधेशमाथि उपनिवेशवादी शासन लादिएको दाबी गर्दै उहाँले पछिल्ला ७५ वर्षमा काँग्रेस र कम्युनिष्ट दलहरूले पनि मधेशलाई विभिन्न रूपमा ठग्दै आएको आरोप लगाए।

२००७/००८ सालपछि काँग्रेस र कम्युनिष्टहरुले सत्ताको नेतृत्व गरेपनि आजसम्म मधेसीलाई पूर्ण अधिकार नदिएको उनको भनाइ रहेको छ । उनले नागरिकता, सुकुम्वासी व्यवस्थापन र स्वायत्तता लगायतको मधेशको माग पूरा हुन नसकेको बताएका हुन्।

उनले सशस्त्र द्वन्द्वका क्रममा पनि मधेसी समुदाय अपेक्षित उपलब्धिबाट वञ्चित भएको दाबी गर्दै माओवादी नेतृत्वको आन्दोलनबाट समेत मधेशीहरू ठगिएको बताउनु भयो। मधेशको राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद अन्त्य नहुने उनले दाबी गरे।

उनले भने, ‘मधेशलाई राणाहरुले पनि ठगे, उपनिवेश शासन नै लादे, काँग्रेस कम्युनिष्टहरुले पनि विगत ७५ वर्षदेखि ठग्दै आएको हामीकहाँ प्रमाण नै छ । २००७/००८ सालमा काँग्रेसहरूको सत्ता आयो तर अहिलेसम्म कुनै अधिकार नदिने, नागरिकत्ता नदिने, सुकुम्बासीहरुलाई व्यवस्थापन नगर्ने, स्वायत्तता नदिनेगरि विभिन्न रुपले ठगी गर्दै आएको छ। मत चाहिँ मधेसबाट लिने, सरकार चाहिँ मधेसबाट नै बनाउने तर जहिले पनि अधिकार चाहिँ नदिने षड्यन्त्र हुँदै आएको छ । त्यतिमात्रै होइन माओवादी आन्दोलन हुँदा पनि मधेसीहरु ठगिइएको हामीकहाँ प्रमाण छ।

उनले मधेशका माग सम्बोधन गर्न वर्तमान सरकारलाई आग्रह गरे। मधेसको माग सम्बोधनको लागी जिल्ला प्रशासन कार्यलयमार्फत सोमबार नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने उनले जानकारी दिए।