एसइई नतिजामा प्राविधिक त्रुटि र उत्तरपुस्तिका हराएको भन्दै नेविसंघ आक्रोशित
काठमाडौं। नेपाल विद्यार्थी संघ(नेविसंघ)ले माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा व्यवस्थापनमा गम्भीर त्रुटि भएको भन्दै तत्काल छानबिन कारबाही गर्न माग गरेको छ।ने विसंघले आज (आइतबार) विज्ञप्ति जारी गर्दै एसइई नतिजामा पर्याप्त परीक्षण र प्रमाणीकरण बिना हतारमा नतिजा प्रविष्टि गर्दा हजारौं विद्यार्थीको वास्तविक शैक्षिक मूल्याङ्कनमा गम्भीर गल्तीहरू देखिएको दाबी गरेको छ।
नेविसंघले तत्काल प्रणालीगत सुधार गर्न माग गरेको छ।
‘हालसम्म पुनर्योगको नतिजा आएकामध्ये ५.६३ प्रतिशत ९१,५५९ भन्दा बढी० विद्यार्थीको ग्रेडमा ठूलो फेरबदल हुनु, उत्तरपुस्तिका भित्र ७० अंक पाएका विद्यार्थीको प्राप्ताङ्क कम्प्युटरमा त्रुटिवश ७ अंक मात्र चढाइनु र सुरुमा अनुत्तीर्ण (भनिएका विद्यार्थीले पुनर्योगपछि २.०) सम्म जीपीए प्राप्त गर्नुले प्रारम्भिक नतिजा संकलन र डाटा प्रविष्टिमा रहेको प्राविधिक असावधानीलाई स्पष्ट पार्छ।
यसैबीच, स्थानान्तरण र फितलो व्यवस्थापनका कारण पुनर्योगका लागि आवेदन दिएकामध्ये करिब १,००० जना विद्यार्थीको उत्तरपुस्तिका नै फेला नपर्नु र नतिजा आउन ढिलाइ हुनुले आफ्नो वास्तविक नतिजा कुरिरहेका विद्यार्थीहरूमा गम्भीर मानसिक तनाव र शैक्षिक भविष्यप्रति अन्योलता सिर्जना गरेको छ,विज्ञप्तिमा उल्लेख छ।
नेविसंघले ‘कापी खोज्दैछौं, भेटिएपछि नतिजा आउँछ’ भन्ने गैरजिम्मेवार जवाफ कुनै पनि हिसाबले स्वीकार्य नहुने जनाएको छ।
‘संवेदनशील शैक्षिक अन्योललाई तत्काल र रचनात्मक रूपमा निकास दिन नेविसंघ राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा मन्त्रालय समक्ष निम्न ठोस एवं व्यावहारिक समाधानका लागि जोडदार माग गर्दछ,उत्तरपुस्तिका व्यवस्थापन र प्राप्ताङ्क प्रविष्टिमा गम्भीर लापरबाही गर्ने परीक्षक एवं जिम्मेवार अधिकारीहरूलाई आन्तरिक छानबिनको दायरामा ल्याई तत्काल विभागीय कारबाही गरियोस्,’विज्ञप्तिमा उल्लेख छ।
