वामपन्थी छिटो एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटोभन्दा छिटो वामपन्थी एक हुनुपर्ने बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ढिला गर्नु गल्ती हुने बताए ।
हामी ढिलो नगरीकन भन्न चाहन्छु– राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तिहरू एक हुनुपर्छ । ढिला गर्नु गल्ती हुन्छ,” उनले भने ।
नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले एउटै क्रममा बस्ने नेता कहिँ पनि नपुग्ने जिकिर गरे । आफू एकताका लागि नहतारिएको पनि उनको भनाइ थियो ।
‘म विल्कुल हतारिएको छैन । हुन त मलाई मानिसहरूले विभिन्न कोणबाट हेर्दै विभिन्न चित्र बन्ने गरेको छ । मैले क्रमभंग भन्यो भने के उत्पात गर्न थाल्यो भन्छन् । यो त प्रकृति, समाज र मानव समाजको नियम हो, निरन्तरतामा क्रमभंग । मैले त्यही भन्ने गर्छु । गरिराख्नुपर्ने हुन्छ, क्रमभंग,’ प्रचण्डले भने।
आफ्ना केही साथीहरू सधैं एकै ठाउँमा बस्ने गरेको र भिक्षु बनेर घण्टी बजाइरहेको टिप्पणी पनि उनले गरे ।
‘क्रममै बस्नुभयो भने, जानुभयो । हाम्रा धेरै साथीहरू बसिरहेका छन् । बौद्ध भिक्षु रहेछौं घण्टी बजाइराख्छु भन्या छ, अहिले पनि नयाँ जनवाद नै भनेको छ, त्यो कुराले कहिँ लाँदैन, प्रचण्डले भने, ‘अहिले परिस्थिति फेरिएको छ, हामी पनि फेरिनुपर्छ।
यसलाई तपाईं गतिशील ठान्नुहुन्छ, परिवर्तनको बुझ्ने नेता ठान्नुहुन्छ, धन्यवाद । अर्को ठान्नुहुन्छ, त्यो पनि धन्यवाद । परिस्थिति अनुसार विचारलाई परिवर्तन गर्ने क्षमता कम्युनिस्टमा हुनुपर्ने प्रचण्डको भनाइ छ ।
