राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यक छ: सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख तीन अङ्गबीच कार्यगत एकता र गतिशीलता आवश्यक रहेको बताएका छन्। ६८ औं संसद् दिवसको अवसरमा मङ्गलवार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सभामुख अर्यालले जनजीविका, राष्ट्रियता र समृद्ध राष्ट्र निर्माणको दिशामा सरकारलाई निरन्तर खबरदारी गर्न नागरिक समाज र सरोकारवालाहरूलाई आग्रह गरे। नेपाल बस्न लायक मुलुक बन्यो, अब स्वदेश फर्किनुपर्छ भन्ने वातावरण सिर्जना गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको बताए ।
उनले वैदेशिक रोजगारी र अन्य सिलसिलामा विश्वभर छरिएर रहेका नेपालीहरूलाई स्वदेश फर्किने आधार तयार गर्न नागरिकले झक्झक्याइरहनुपर्ने उल्लेख गरे।
उनले विकास र सुशासनको मार्गमा अनावश्यक प्रक्रियागत जटिलतामा अल्झिनु नहुने र भ्रष्टाचारमुक्त समाज निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए। अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री ज्ञानलाई एकीकृत गरेर मात्र मुलुकलाई द्रुतमार्गबाट विकासको दिशामा अगाडि बढाउन सकिने उनको तर्क छ।
उनले भने, ‘आगामी दिनमा जनजीविकाको हकमा, राष्ट्रियताको हकमा, राष्ट्र निर्माणको विषयमा, समृद्ध राष्ट्र निर्माण गर्ने विषयमा, सुशासन कायम गर्ने विषयमा तथा भ्रष्टाचारको अन्त्य गर्ने विषयमा यहाँहरूले हामीलाई निरन्तर झकझक्याइरहनुपर्छ।
कम्तीमा पनि अब नेपाल साँच्चिकै नेपाल बन्यो, नेपाल बस्नलायक बन्यो, हामी फर्किनुपर्छ भन्ने अनुभूति संसारभर विभिन्न देशमा बसिरहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा जगाउने वातावरण निर्माण गर्न हामी सबै लाग्नुपर्छ।
यहाँहरूले हामीले बोलाएका यस्ता कार्यक्रममा मात्र होइन, अन्य समयमा पनि आफ्ना सुझाव, सल्लाह र खबरदारी दिइरहनुपर्छ। त्यसका लागि यहाँहरूलाई अधिकार पनि छ, कर्तव्य पनि छ र जिम्मेवारी पनि छ । हामीलाई खोज्नु, प्रश्न गर्नु र खबरदारी गर्नु पनि यहाँहरूको दायित्व हो।
उनले आफू निरन्तर सम्पर्कमा रहने प्रयास रहेको बताउँदै भने, ‘मलाई लाग्छ, मर्यादाका विषयमा यति धेरै बहस हुन्छ कि कहिलेकाहीँ विकासका मुद्दा, सुशासनका प्रश्न र भ्रष्टाचार नियन्त्रणका विषय ओझेलमा पर्ने गरेका छन्।
त्यसैले हामीले अग्रजहरूलाई सधैँ सम्मान गर्दै आएको छौँ । मैले सार्वजनिक रूपमा पनि भन्ने गरेको छु–अघिल्लो पुस्ताले हामीलाई यो देशमा लोकतान्त्रिक अभ्यास गर्ने र उच्चस्तरको राजनीति गर्ने अवसर प्रदान गर्नुभएको हो।
सभामुख अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ‘स्पिड र स्पिरिट’ ९गति र भावना० मिलेमा मात्र जनताको चाहनाअनुसारको परिणाममुखी काम गर्न सकिने उल्लेख गरे।
उनले संविधानको अक्षरशः पालना गर्दै कानूनी राज्यको अवधारणामा कुनै आँच नआउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। मुलुकमा प्रिमियम क्लासको राजनीति गर्ने अवसर अघिल्लो पुस्ताले प्रदान गरेको स्मरण गर्दै उनले वर्तमान र भावी पुस्ताको क्षमतालाई कदर गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए।
