किनेको पाँच दिनमै पब्लिकेसन अगाडी किन राखियो गाडी, बाँकी दुई निजी कार भएको खुलासा

काठमाडौं। काठमाडौंका तीन प्रमुख सञ्चारमाध्यमका कार्यालयअगाडि सोमबार बिहान बाटो नै अवरुद्ध हुने गरी पार्क गरिएका तीन वटा गाडीमध्ये दुई वटा निजी व्यक्तिको र एउटा सानीमा बैंकबाट ऋण लिएर एसटी मोटर्सले किनेको खुलेको छ ।

कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालयअगाडि राखिएका ती गाडीका कारण पत्रकार तथा कर्मचारीलाई कार्यालयभित्र आफ्ना सवारीसाधन प्रवेश गराउनसमेत कठिनाइ भएको थियो।

यातायात व्यवस्था विभागको विवरणअनुसार, कान्तिपुर पब्लिकेशनअगाडि पार्क गरिएको बा। प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकबाट ऋण लिएर एसटी मोटर्सले पाँच दिनअघि मात्र नामसारी गरेको पाइएको छ ।

त्यस्तै, अनलाइनखबरको कार्यालयअगाडि रहेको बा।१२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा दर्ता रहेको विभाग स्रोतले जनाएको छ।यस्तै, हिमालय टेलिभिजनअगाडि राखिएको बा.१० च १२५५ नम्बरको गाडी पनि एक निजी व्यक्तिको नाममा दर्ता रहेको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, तीनै गाडी त्यहाँ कसले र किन राख्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

यसैबीच, नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले क्रेनको सहायताबाट तीनै स्थानबाट गाडी हटाएको जनाएको छ।