नयाँ प्रणालीमार्फत राहदानी दिन शुरू
काठमाडौं। राहदानी विभागले नयाँ प्रणालीमार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाण्डौको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालेको जनाएको छ।
विभागका अनुसार केही सेवाग्राहीले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन्। नयाँ प्रणालीको स्थिरीकरणको अवधि ३ महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज, नियमित हने अपेक्षा गरेको विभागको भनाइ छ।
विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
विभागका अनुसार झन्डै १ करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण भएको छ।
नयाँ प्रणालीको शुरुआती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ।
