गणेश नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउन सरकार र पीडित पक्षबीच सहमति

काठमाडौं। काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने विषयमा सरकार र पीडित पक्षबीच सहमति भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको रोहबरमा आइतबार भएको त्रिपक्षीय वार्तापछि पीडित परिवार, सरकार र काठमाडौं महानगरपालिकाबीच योसहित ९ बुँदे सहमति जुटेको हो।

सहमति पत्रको दोस्रो बुँदामा स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने उल्लेख छ।

यो सहमति भएसँगै विगत तीन दिनदेखि शिक्षण अस्पतालमै रहेको नेपालीको शव बुझ्न र पोस्टमार्टम प्रक्रिया अघि बढाउन पीडित परिवार सहमत भएको छ।

घटनाको सत्यतथ्य छानबिनका लागि सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । उक्त समितिले सात दिनभित्र सरकारसमक्ष पेस गर्ने प्रतिवेदन र सिफारिसका आधारमा नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रियालाई मूर्तरूप दिइनेछ।