अशक्त र बालबालिकालाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने
काठमाडौं। नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्र नभए पनि निश्चित वर्गका नागरिकलाई बैंक खाता खोल्न सकिने व्यवस्था गरेको छ।
नयाँ निर्देशनअनुसार आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असहाय नागरिक तथा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय परिचयपत्र बिना पनि बैंक खाता खोल्न सकिनेछ। अन्य नेपाली नागरिकका हकमा भने नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य रहने राष्ट्र बैंकले जनाएको छ।
यस्तै, विदेशमा रहेका नेपालीले राष्ट्रिय परिचयपत्रबाहेक आवश्यक कागजातका आधारमा अनलाइनबाट खाता खोल्न सक्नेछन्। नेपाल फर्किएको ३५ दिनभित्र भने सम्बन्धित बैंकमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २०८३ असोज मसान्तभित्र खातावालाको राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न र परिचयपत्र नलिएका ग्राहकलाई हरेक ६ महिनामा जानकारी गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।
