क्यामेराले नदेख्ने स्थानमा लगेर प्रहरीले मलाई अन्धाधुन्ध कुटपिट गर्यो: माजिद अन्सारी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्वासीहरूको व्यवस्थापनमा सहयोग गर्न जाँदा नेपाल प्रहरीबाट भएको कुटपिट र बर्बर दमनविरुद्ध कानुनी कारबाही अगाडि बढाउने बताएका छन्।

अस्पतालबाट डिस्चार्ज भएपछि जारी गरेको विज्ञप्तिमा अन्सारीले आफूलाई गैरकानुनी रूपमा बन्दी बनाई चरम शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाएका छन् । उनले बाढी पीडितको सेवामा खटिएका बेला एक ‘गैर–निर्वाचित व्यक्तिको आदेश’ मा प्रहरीले उनलाई र उनका साथीहरूलाई घेरा हालेर कुटपिट गरेको बताएका छन् । क्यामेराले नदेख्ने स्थानमा लगेर १०–१२ जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको उनले बताएका छन्।

उपचारका लागि कीर्तिपुर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका अन्सारीले त्यहाँ पनि गृह मन्त्रालय र प्रहरीको प्रत्यक्ष निगरानीमा आफूमाथि अन्याय भएको दाबी गरे।

मेरो मेडिकल हिस्ट्रीमा ‘प्रहरी कुटपिट’ भन्ने शब्द समेत लेख्न नदिने प्रयास गरियो, उनले भने, “क्याबिनभित्र सादा पोसाकका प्रहरी आएर जमानीमा हस्ताक्षर नगरे अभद्र व्यवहारको मुद्दा चलाउने धम्की दिइयो ।

अन्सारीले करिब ३–४ दिनसम्म प्रहरी निगरानीमा राखेर मानसिक दबाब दिइएको र स्वतन्त्र उपचार पाउने अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन् ।हाल अस्पतालबाट डिस्चार्ज भई चिकित्सकको सल्लाहअनुसार ‘बेड रेस्ट’ मा रहेका अन्सारीले स्वास्थ्य सामान्य भएपछि आफूमाथि भएको ‘नियोजित घेराबन्दी र यातना’ विरुद्ध कानुनी लडाइँ लड्ने स्पष्ट पारेका छन् । 

उनले भनेका छन्

मिति २०८३/०३/२७ गते शनिवारको दिन कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी बाट प्रभावित सुकुम्बासी हरुको मानवीय व्यवस्थापनकोे सहयोगको लागी गएकोमा नेपाल प्रहरीले एक गैर निर्वाचित व्यक्तिको आदेश बमोजिम म लगायत हाम्रा जेनजी आन्दोलनको साथीहरूलाई नियोजित रुपमा चारै तिर बाट घेरा हाली अमर्यादित राजनीतिक भाषा शैलीको प्रयोग गर्दै क्यामेराले नदेख्ने गरी करिब १०-१२ जना नेपाल प्रहरीले लछारपछार गर्दै कुटपिट गर्दै गम्भीर घाइते बनाई चरम यातना दिई मलाई गैरकानूनी रुपमा बन्दी बनाएर राखिएको थियो ।
कीर्तिपुर प्रहरी वृत्तमा गम्भीर चोटको कारणले मेरो स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारको क्रममा मलाई कीर्तिपुर अस्पताल देखि त्रि.बि. शिक्षण अस्पताल सम्ममा गृह मन्त्रालय तथा नेपाल प्रहरीको प्रत्यक्ष निगरानी सहितको ठाडो “माथिको आदेश” मा मेरो मेडिकल हिस्ट्रीमा Police Assault भन्ने शब्द समेत लेख्न नदिने कोशिस गरिएको तथा मेरो उपचार भइरहेको क्याबिन भित्रै कीर्तिपुर प्रहरी सादा पोशाकमा आएर “तपाई हाम्रो बन्दी हो” भन्दै तत्काल जमानी कागजमा हस्ताक्षर नगरे अभद्र व्यवहारको मुद्धा चलाउने भनी दिएको धम्की सहितको करिब ३-४ दिनको शारीरिक तथा मानसिक यातनाका बीचमा मेरो जीवन तथा स्वतन्त्रताको लडाईमा साथ दिनु हुने सम्पूर्ण वरिष्ठ अधिवक्ता, अधिवक्ता कानून व्यावसायी ज्यूहरु, प्रतिनिधिसभा सदस्य ज्यूहरु, मेरो क्याम्पसका सिनियरहरु सहित सबै कानूनका विद्यार्थी साथिहरु, जेन जी आन्दोलनका साथीहरु, राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, मुस्लिम आयोग, एम्नेस्टी इन्टरनेशनल नेपाल, एडभोकेसी फोरम लगायत सम्पूर्ण राष्ट्रिय तथा अन्तरराष्ट्रिय मानव अधिकार संस्थाहरू, मित्र राष्ट्रहरुका प्रतिनिधि संस्थाहरू, मानव अधिकार रक्षकहरु, विभिन्न राजनीतिक दलका नेता तथा विधार्थी आन्दोलनका साथीहरु, खास गरी जेन जी पत्रकार साथीहरु सहित सम्पूर्ण पत्रकार सहित सम्पूर्ण नागरिक समाजलाई हार्दिक आभार व्यक्त गर्दछु । तपाईहरुको आवाज सहितको साथ बगैर मेरो जीवन र स्वतन्त्रताको लडाई सजिलो थिएन ।
म हाल अस्पतालबाट डिस्चार्ज भई डाक्टरको सल्लाह बमोजिम अझै २-३ दिन पूर्ण रुपमा बेड रेस्टमा हुनेछु । यस अवधिमा मेरो स्थितिबारे चिन्ता र चासो व्यक्त गर्दै मेसेज र फोन गर्नुहुनेलाई जवाफ दिन सकेको छैन । बेड रेस्टकोे कारणले अझै केही दिन तपाईहरुको जिज्ञासाको जवाफ दिन असमर्थ छु । म स्वास्थ्य अवस्था सामान्य भएपछि सावर्जनिक रुपमा प्रस्तुत हुने नै छु र म समेतको विरुद्धमा भएको प्रहरीको नियोजित घेराबन्दी सहितको चरम यातनाको विरुद्धमा कानूनी लडाई लड्ने नै छु ।
प्रहरी यातना विरुद्धको आगामी कानूनी लडाईमा साथ दिनुहुन सम्पूर्ण कानून व्यवसायीहरु, पत्रकारहरु तथा मानव अधिकार रक्षकहरु सहित सम्पूर्ण नागरिक समाजलाई हार्दिक अपिल गर्दछु । यो लडाईमा साथ दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ।