सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज (बिहीबार)सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट दर्ता गरिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको भूराजनीतिक तनाव, विशेषगरी अमेरिका र इरानबीचको कूटनीतिक गतिरोध तथा विश्वव्यापी आर्थिक अस्थिरताका कारण सुरक्षित लगानीका रूपमा सुनको माग उच्च रहँदा नेपाली बजारमा पनि यसको मूल्य ऐतिहासिक रूपमा माथिल्लो विन्दुमा टिकिरहेको व्यवसायीहरू बताउँछन्।

सुनको मूल्य बढेका दिन चाँदीको मूल्यमा भने ठूलो गिरावट आएको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर प्रति तोला ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ।

हिजो बुधबार चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा डलरको सूचकाङ्क बलियो बन्दा र औद्योगिक मागमा केही सुस्ती आउँदा चाँदीको मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ।