विष्णु पौडेल छुटेपछि रास्वपा सांसदले भने-न्यायालय पुनर्संरचनाबिना सुशासन सम्भव छैन
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनर्संरचना नगरी सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न नसकिने बताएका छन्।
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध चलाइएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि न्यौपानेले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले पछिल्ला केही श्रृङ्खलाबद्ध घटनाक्रमले न्यायालयमा व्यापक सुधार आवश्यक रहेको स्पष्ट पारेको उल्लेख गर्दै न्यायालयको निर्ममतापूर्वक समीक्षा गर्ने बेला आइसकेको बताए। उनले सामाजिक सञ्जालमा लेख्दै भने,विगतका केही श्रृङ्खलाबद्ध घटनाक्रमहरूले स्पष्ट पारिरहेको छ। न्यायालय पुनर्संरचनाबिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन, साथै आम सर्वसाधारण नागरिकले समेत न्यायको प्रत्याभूत गर्न सक्ने अवस्था रहँदैन।
न्यौपानेले न्यायालयमा आवश्यक सुधार नगरे आम नागरिकले समेत न्यायको प्रत्याभूति गर्न नसक्ने अवस्था रहने चेतावनी दिए। उनले सुधारको प्रक्रिया जति ढिला गरिन्छ, त्यसको असर त्यति नै गम्भीर र अकल्पनीय हुने अवस्था सिर्जना हुन सक्ने धारणा राखे।
उनका अनुसार देश परिवर्तनका लागि न्यायालयसहित राज्यका सबै निकायले समयअनुकूल परिवर्तनलाई आत्मसात गर्न आवश्यक छ। उनले आफ्नो धारणा आवेगमा नभइ गम्भीर समीक्षा र विश्लेषणबाट निस्किएको निष्कर्ष भएको समेत बताए।
न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ। यस कर्मलाई जति ढिला गर्यो त्यति नै अकल्पनीय ढिला भएको महसुस हुन सक्ने परिस्थिति बन्न सक्छ। राज्यका सबै निकायले परिवर्तनलाई आत्मसाथ गर्न सक्नुपर्दछ र मात्रै देश परिवर्तन गर्न सम्भव छ,उनले भने, यो मेरो आवेगमा आएर बुझेको बुझाइ नभइ गम्भीर समीक्षाबाट निस्किएको निष्कर्ष हो।
