राजविराज कारागारका कैदीबन्दी आन्दोलित,पाँच जनाले गरे आत्मदाहको प्रयास

काठमाडौं। सप्तरीको राजविराजस्थिति जिल्ला कारागारका केदीबन्दीहरु आन्दोलित बनेपछि अवस्था तनावग्रस्त बनेको छ । जेलर रूपक मण्डलको सरुवा माग गर्दै तीनदिन देखि उनीहरु आन्दोलित बनेका हुन्। त्यसमध्ये पाँच जनाले मट्टीतेल खन्याएर आत्मदाहको प्रयास समेत गरेका छन् ।

जेलर मण्डलले चौकीदार नियुक्तिमा ठूलो आर्थिक चलखेल गरेको भन्दै निष्पक्ष छानबिनको माग कैदीबन्दीहरूको छ। शनिबार दुई समूहको आन्दोलन थप चर्किएपछि प्रहरीले बल प्रयोग गर्न खोज्दा तनाव बढेको थियो।

त्यही क्रममा पाँचजना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका हुन्। तर प्रहरी पछि हटेपछि अन्य कुनै क्षति भने भएन।

जेलर मण्डलका अनुसार अहिले सम्झाइ बुझाइ गरेपछि अवस्था सामान्य बनेको छ । उनले आफूमाथि लागेका आरोपहरुमा छानबिन गरे आफू सहयोग गर्न तयार रहेको बताएका छन्।