काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष करदातालाई विभिन्न छुट र सुविधा सहितको नयाँ आर्थिक ऐन कार्यान्वयनमा ल्याएको छ।

यसअनुसार चालु वर्षको सम्पत्ति, व्यवसाय र बहाल कर असोज मसान्तभित्र बुझाउनेले १० प्रतिशत छुट पाउनेछन्। साथै विगतको बाँकी कर आउँदो असोज मसान्तभित्र तिरेमा जरिवाना पूर्ण मिनाहा हुनेछ। महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र ३५ वर्षमुनिका युवाले चलाएका साना व्यवसायलाई ४० प्रतिशतसम्म छुट दिइनेछ। २० जनासम्मलाई रोजगारी दिने नयाँ उद्योगलाई तीन वर्षसम्म ९५ प्रतिशत व्यवसाय कर छुट हुनेछ।

पार्किङ भवनलाई १० वर्षसम्म सम्पत्ति कर छुट तथा वर्षाको पानी पुनः भरण प्रणाली जडान गरेका घरलाई ९५ प्रतिशतसम्म छुट दिइनेछ । स्थानीय भाषा र रञ्जना लिपिमा तयार साइनबोर्डमा पनि ९५ प्रतिशत छुट हुनेछ । करदाताले चाहेमा कर तीन किस्तामा पनि बुझाउन सक्नेछन् ।

त्यस्तै, काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको रात्रिकालीन बस सेवाबाट पहिलो तीन महिनामा ६७ हजार ७०१ जना लाभान्वित भएका छन् । कार्यवाहक मेयर सुनिता डङ्गोलका अनुसार वैशाखदेखि सुरु गरेको सेवामा पहिलो महिनामा १९ हजार, जेठमा २७ हजार र असारमा २० हजारभन्दा बढी यात्रुले यात्रा गरेका छन्।

अहिले यो सेवा लगनखेल–बुढानीलकण्ठ र थानकोट–विमानस्थल रुटमा सञ्चालनमा छ । दुवै रुटमा झण्डै बराबर संख्यामा यात्रुले सेवा उपयोग गरेका छन्। रात्रिकालीन सार्वजनिक यातायातप्रति नागरिकको विश्वास बढ्दै गएको पाइएकोले थप क्षेत्रमा सेवा विस्तार गर्ने तयारी भइरहेको कार्यवाहक मेयर डङ्गोलले बताउनुभयो । महानगरले साझा यातायातसँगको सहकार्यमा यो सेवा शुरु गरेको हो।