घरजग्गा कारोबारबाट असारमा मात्र झण्डै १२ अर्ब राजस्व संकलन, कुन महिनामा कति उठ्यो ?
काठमाडौं। घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४ सय ५४ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व सङ्कलनसमेत गत असार महिनामा नै भएको हो।
विभागले वर्षभरको राजस्व सङ्कलनको विवरण उपलब्ध गराएको छ। विवरणअनुसार गत वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८ सय ७३ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो। यो उक्त आवको दोस्रो धेरै राजस्व सङ्कलन हो।
विभागका अनुसार २०८२ साउनमा तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २ सय ४२ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो । भदौमा केही घटेर तीन अर्ब १४ करोड सात लाख १६ हजार ३ सय ३५ रुपैयाँ बराबरमात्रै प्राप्त भएको थियो।
त्यस्तै, असोज र कात्तिकमा भने न्यून मात्रामा राजस्व प्राप्त भएको थियो। असोजमा दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९ सय २७ रुपैयाँ र कात्तिकमा दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १ सय ९९ रुपैयाँ बराबरको रकम सरकारको खातामा जम्मा भएको थियो।
गत मङ्सिरमा रु चार अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८ सय ३२ रुपैयाँ, पुसमा पाँच अर्ब १७ करोड ३२ लाख १४ हजार २ सय २२ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो । माघमा पाँच अर्ब ९९ लाख २४ हजार ५ सय ३६ रुपैयाँ र फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९ सय ३२ रुपैयाँ रकम घरजग्गा कारोबारबाट प्राप्त भएको थियो।
त्यसैगरी, गत चैतमा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार १ सय १७ रुपैयाँ, वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८ सय ७३ रुपैयाँ र जेठमा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ बराबरको रकम सरकारको खातामा जम्मा भएको थियो।
गत असारमा भने कारोबारमा उल्लेख्य सुधार भएपछि राजस्व सङ्कलनमा पनि वृद्धि भएको थियो। साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमा नै भएपछि कारोबारमा वृद्धि भएको अनुमान गरिएको छ।
सोही कारण गत असारमा ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४ सय ५४ रुपैयाँ राजस्व सङ्कलन भएको विभागको विवरणमा समावेश छ। कारोनाकाल र गोरखा भूकम्पपछि घरजग्गा कारोबारबाट गत असारमा सबैभन्दा बढी राजस्व सङ्कलन भएको बताइन्छ।
