शुक्लाफाँटा निकुञ्जमा हराएका महिला भेटिए

काठमाडौं। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका महिलाहरू भेटिएका छन्। आइतबारदेखि जंगलमा सम्पर्कविहीन भएका भीमदत्त नगरपालिका–१९ का ११ जना र बेदकोट नगरपालिका–१० का ३ जना महिला आज मध्याह्न सवा १२ बजेतिर परिवारको सम्पर्कमा आएका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द जोशीले बताए।
निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्ज भित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार परिवारको सम्पर्कमा आएका हुन्।
जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिँदा सम्पर्कविहीन भएको उनीहरुले बताएका छन्। परिवारको सम्पर्कमा आएका उनीहरूको अवस्था बुझ्नका लागि प्रमुख जिल्ला अधिकारी मदन कोइराला सहितको टोली भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ ।
