मानिस निर्यात गरेर देश बन्दैन,उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मानिस विदेश पठाएर मात्र देशको आर्थिक विकास सम्भव नहुने भन्दै स्वदेशमै उत्पादन बढाएर वस्तु निर्यात गर्नुपर्ने बताएका छन्। मंगलबार नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

भेटपछि संघका अध्यक्ष पशुपतिदेव पाण्डेले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, “मानिस निर्यात गरेर देश बन्दैन, मानिसले उत्पादन गरेका वस्तु निर्यात गरे मात्रै देश बन्छ भन्ने उहाँको स्पष्ट धारणा छ।” प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगका समस्या समाधान, निर्यात विस्तार र लगानी प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताएका थिए।

बंगलादेश-भियतनाम भन्दा नेपाल किन पछाडि 

छलफलका क्रममा प्रधानमन्त्री शाहले बंगलादेश, भियतनाम, चीन, भारत र श्रीलंकाको तुलनामा नेपालको तयारी पोसाक उद्योग किन पछाडि परेको भन्दै उद्योगीहरूसँग कारण र समाधानबारे जिज्ञासा राखेका थिए। संघका अध्यक्ष पाण्डेका अनुसार तयारी पोसाक उद्योगलाई नेपालको अर्थतन्त्रको प्रमुख आधार बनाउने विषयमा बुँदागत छलफल भएको थियो।

 छलफलमा खुला सीमाका कारण हुने चोरी पैठारी नियन्त्रण, उद्योग सञ्चालनका समस्या, मन्त्रालयमा रोकिएका काम, निर्यात विस्तार र अन्तर्राष्ट्रिय बजार पहुँचका विषय उठाइएको उनले बताए।

 त्यस्तै प्रधानमन्त्री शाहले अमेरिका लगायतका मुलुकसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए)विस्तार, वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने र बहुराष्ट्रिय कम्पनीलाई नेपालमा आकर्षित गर्ने विषयमा पहल गर्ने बताएका छन्।

त्यस्तै, लामो समयदेखि बन्द रहेका तयारी पोसाकसँग सम्बन्धित रुग्ण उद्योग पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको संघले जनाएको छ। अध्यक्ष पाण्डेका अनुसार दुई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगजस्ता उद्योग पुनः सञ्चालन गर्ने विषयसमेत छलफलमा उठेको थियो।

प्रधानमन्त्रीले भने छलफलमा काठमाडौं उपत्यकामा छरिएर रहेका तयारी पोसाक उद्योगलाई एकीकृत गरी ‘ग्रीन गार्मेन्ट भिलेज’ स्थापना गर्ने प्रस्तावबारे पनि छलफल भएको थियो। उक्त अवधारणालाई औद्योगिक पर्यटनसँग जोडेर विकास गर्ने विषयमा प्रधानमन्त्री शाहले चासो देखाएको अध्यक्ष पाण्डेले बताए।

प्रधानमन्त्री शाहले उद्योगीहरूलाई स्पष्ट कार्ययोजना ल्याउन आग्रह गर्दै प्लान्ट बेस्ड फाइबर, एनिमल बेस्ड फाइबर, कपास खेती, फाइबरदेखि फ्याब्रिक, फ्याब्रिकदेखि फेसन र फेसनदेखि निर्यातसम्मको चक्र विकास गर्नुपर्ने बताएका थिए।

अमेरिकामा रोकिएका तयारी पोसाकबारे पहल गर्न निर्देशन

प्रधानमन्त्री शाहले अमेरिकामा ‘फ्लेमेबिलिटी टेस्ट’ लगायतका कारण रोकिएका नेपाली तयारी पोसाकको निर्यात सहजीकरणका लागि परराष्ट्र मन्त्रालयलाई आवश्यक पहल गर्न निर्देशन दिएका छन्।

संघका अनुसार आवश्यक नीतिगत सुधार, एफटीए विस्तार र अन्तर्राष्ट्रिय बजारसँग प्रभावकारी समन्वय हुन सके नेपालबाट हुने तयारी पोसाक निर्यात १० देखि २० गुणासम्म बढाउन सकिने सम्भावना छ।

‘समस्या मात्रै होइन, समाधान पनि लिएर आउनुस्’

संघका महासचिव भीमकुमार गिरीका अनुसार प्रधानमन्त्री शाहले उद्योगीहरूलाई समस्या मात्र नभई समाधानसहितको योजना लिएर आउन आग्रह गरेका थिए। प्रधानमन्त्रीले शहर केन्द्रित नभई ग्रामीण क्षेत्रमा समेत उद्योग विस्तार गर्नुपर्ने र तयारी पोसाक उद्योगका लागि आवश्यक कच्चा पदार्थ नेपालमै उत्पादन गर्ने क्षमता विकास गर्नुपर्ने बताएका थिए।

संघका अनुसार हाल नेपालबाट वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको तयारी पोसाक निर्यात भइरहेको छ। अध्यक्ष पाण्डेले गिरिजाप्रसाद कोइरालापछि पहिलो पटक प्रधानमन्त्रीले तयारी पोसाक उद्योगीहरूसँग प्रत्यक्ष छलफल गरेको भन्दै भेटवार्ताले उद्योग क्षेत्रमा सकारात्मक ऊर्जा दिएको बताए।

छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी थिए।