कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो ।
नेपाल र कोरियाबीच भएको समझदारीपत्र अनुसार रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत कोरियाले ७ हजार २ सय कोटाका लागि आवेदन आह्वान गरेको हो ।
एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय जना र वन क्षेत्रका लागि १ सय जनाको माग आएको हो ।
आवेदन अनलाइनमार्फत २७ जुलाई, २०२६ देखि २ अगष्टसम्म दिन सकिनेछ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गई गैर कानुनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको र कोरियामा ई-९ वा ई-१० भिसामा ५ वर्ष वा सो भन्दा बढी नबसेको हुनुपर्नेछ।
पहिलो चरणको भाषा परीक्षाको नतिजा आएपछि अर्को चरणको परीक्षा हुनेछ । परीक्षाका लागि २८ डलर शुल्क तिर्नुपर्नेछ । अन्तिम परीक्षामा पास भएका उम्मेदवारको वैधता नतिजा प्रकाशन भएको मितिले २ वर्षसम्म हुने जनाइएको छ।
