कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
काठमाडौं। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिवार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।
गत असार ३२ गते काँग्रेस र नेकपाका १६ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए। शनिवार दिउँसो तीन बजे मुख्यमन्त्रीले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गरिएको थियो।
गत असार ३१ गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल काँग्रेसका चार मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले राजीनामा दिएका थिए ।
कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यति बेला तत्कालीन माओवादीले समर्थन गरेको थियो । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि काँग्रेस–एमालेले प्रदेश सरकारमा समेत गठबन्धन गरेका थिए।
सोही अनुसार २०८१ साल साउनमा कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी भएको थियो । एमालेले सत्ता सहकार्यमा धोका दिएको र पूर्व सहमति अनुसार काँग्रेसलाई सत्ता हस्तान्तरण नगरेको आरोप लगाउँदै आएको थियो।
काँग्रेसका चार मन्त्रीले राजीनामा दिएको भोली पल्ट नै काँग्रेसले नेकपासँग सत्ता सहकार्य अगाडी बढाएको छ । सोही अनुसार मुख्यमन्त्री कँडेल नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराएका थिए।
