सुनसरी घटना-प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायका प्रमुखको जिम्मेवारी खोसियो
काठमाडौं। गएराति भएको घटनालाई लिएर गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ ।
घिमिरेलाई मन्त्रालयलमा फिर्ता बोलाएर उहाँको ठाउँमा सङ्खुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाएको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं बोलाएर प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएर थेवेको ठाउँमा भैरहवा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाइएको छ ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाण्डौमा कार्यरत डीएसपी मदन नाथलाई पठाएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ कप्तानगञ्जमा गएराति दुई समूहबीच भएको झडपमा १ जनाको ज्यान जानुका साथै गोली लागेर ९ जना घाइते भएका छन् ।
घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । तर कर्फ्युकै बीच प्रदर्शन भइरहेपछि सेना पनि परिचालन गरिएको छ ।
अहिले पनि प्रदर्शनहरू भइरहेका छन् । सुनसरी घटनाको प्रभाव सप्तरी, सिरहा, धनुषालगायतका जिल्लामा पनि देखिएको छ ।
