मधेशी नेतासँग प्रधानमन्त्रीले भने धर्मनिरपेक्षता र संघीयताबारे शंका नगर्नुस्
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शुक्रबार मधेश केन्द्रित दलका नेताहरूसँग अढाइ घण्टा छलफल गरे। सिंहदरबारमा भएको भेटमा नेताहरूले सुरुमा आफ्ना कुरा राखे । त्यसक्रममा सबैजसोले प्रधानमन्त्री बालेनसँग संघीयताप्रतिको धारणा र धर्मनिरपक्षताप्रतिको प्रतिबद्धता खोजे।
यसको पृष्ठभूमिमा तराई–मधेशमा जारी साम्प्रदायिक तनाव र चितवनमा सम्पन्न रास्वपाको महाधिवेशनमा प्रस्तुत रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको प्रदेश सभा खारेज गर्ने विषय थियो। नेता शरदसिंह भण्डारीका अनुसार जवाफमा प्रधानमन्त्री बालेनले आफूले जहिल्यै संघीयता पक्षधर रहेको बताए।
म विशेष शक्ति पृथकीकरण मात्र होइन,शक्ति विकेन्द्रीकरणको पक्षधर हुँ। तल्लो तहसम्म अधिकार दिने जनताको काम गर्ने/गराउनुपर्छ भन्नेमा छु’ बालेनको भनाइ उद्धृत गर्दै भण्डारीले भने।
नेता भण्डारीका अनुसार रास्वपाका उपसभापति डा.वाग्लेले प्रदेशसभा खारेज गर्नुपर्ने गरी प्रस्ताव ल्याएको विषयमा पनि नाम नलिएरै जवाफ दिए।
भण्डारीका अनुसार प्रधानमन्त्री बालेनले भनेका छन्,कसले के प्रस्ताव ल्याए भन्ने कुरा अहिले नगरौं। प्रदेश संरचना कामयावी हुनुपर्छ भन्ने कुरा आएकै छ। यो हदसम्मको छलफल भएको कुरालाई अन्यथा नलिऔं। तर म प्रदेशसभा खारेज गर्ने पक्षमा छैन।
अर्थात, प्रधानमन्त्री बालेनले प्रदेश सभा सदस्यको संख्या तलमाथि गर्न सकिने हदसम्म पनि आफू छलफलमा रहन सक्ने अन्यथा प्रदेशसभा नै खारेज गर्नेतिरको बहसमा आफू नरहेको सन्देश दिएका छन्।
साथै, भेटमा धर्मनिरपेक्षताको विषय पनि उस्तै गरी उठ्यो।छलफलमै सहभागी एक नेताले ‘सनातन सहितको संघीयताको नयाँ मोडेल’मा जान सकिने सुझाए। जवाफमा बालेनले सनातन भनेको के हो र संघीयता के हो भनेर बुझाउने प्रयास गरे।
‘धर्म नबुझेकोले धर्मको कुरा गर्छन। गीता नपढेकोले सनातनको कुरा गर्छन। मैले गीता पढेको छु’ बालेनको भनाइ उद्धृत गर्दै आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले भनेका छन्,संघीयता र सनातन फरक कुरा हो। संघीयता र सनातन एक ठाउँमा हुँदैन।
यो मिल्ने चीज पनि होइन।धर्मको विषयलाई राजनीतिक एजेन्डा बनाउने राजनीतिक दलहरू नै रहेको उल्लेख गरे। तर यसबारे थप व्याख्या गरेनन्।बरु यहाँनेर रास्वपा संघीयता विरोधी नभएको दोहोर्याए।
प्रधानमन्त्रीसँगको यो छलफलमा डा.सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, रामकुमार शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेताहरू सहभागी थिए।
यो छलफलपछि प्रधानमन्त्री बालेनले तराई तथा मधेशबाट प्रतिनिधित्वगर्ने सांसदहरूसँग छलफल गरे। यो छलफलमा सांसदहरु रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, बिक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानी लगायत उपस्थित थिए।
