सरकारलाई बाबुरामको सुझाव-सबैलाई खुसी पार्न खोज्दा असफल भइन्छ
काठमाडौं। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालेन्द्र शाह नेतृत्वको सरकारलाई असफलताको सूत्र दिएका छन्। उनले सबैलाई एकैचोटि खुसी पार्ने प्रयत्न गर्दा असफलता हात लाग्ने बताएका हुन्।
गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबिच १९ बुँदे सहमति भएपछि सामाजिक सञ्जाल एक्समार्फत भट्टराईले यो प्रतिक्रिया दिएका हुन्।
उनले अंग्रेजीको भनाइ उद्धृत गर्दै भनेका छन्,म तिमीलाई सफलताको सूत्र त दिन सक्दिनँ, तर पक्का असफलताको सूत्र चाहिँ दिन सक्छुस् त्यो हो, सबैलाई एकैचोटि खुशी पार्ने प्रयत्न गर! साथै उनले युवा बाहुल्य नयाँ सरकारको यसतर्फ बेलैमा ध्यान पुगोस् भनेर समेत सुझाव दिएका छन्।
गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी टोली र हिन्दू सम्राट सेना नेपालबिच जनकपुरधाममा भएको वार्तापछि १९ बुँदे सहमति भएको थियो। यस सहमतिसँगै हिन्दू सम्राट सेनाले आफ्ना सबै आन्दोलन तथा विरोधका कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ।
शनिबार संयुक्त हिन्दू मोर्चाले बुझाएको १३ बुँदे मागपत्रमा थप ६ बुँदा समावेश गरी कुल १९ बुँदामा दुवै पक्षबिच सहमति जुटेको हो। समझदारीअनुसार आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्ने, उनीहरूमाथि मुद्दा नचलाउने तथा गोली चलाउने सुरक्षाकर्मीमाथि छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ।
यसैगरी, नेपाललाई हिन्दू राष्ट्र पुनःस्थापनाका लागि संसद्मा छलफल गराउने, धार्मिक स्थलको व्यवस्थापन गर्ने, सामाजिक सञ्जालमार्फत द्वेष फैलाउनेलाई कारबाही गर्ने, सीमा सुरक्षा कडा पार्ने र नागरिकता छानबिन लगायतका विषयहरू सहमतिमा समेटिएका छन्।
सुनसरीको देवानगञ्ज घटनापछि मधेश प्रदेशमा उत्पन्न विवाद समाधान गर्न गृहमन्त्री गुरुङ जनकपुर पुगेका थिए।
