विद्युत प्राधिकरणको अनियमितता अध्ययन गर्न दुई समिति गठन
काठमाडौं। ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले अनियमितताका उजुरीहरूमाथि अध्ययन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेका छन्।
ऊर्जा मन्त्रालयले प्राधिकरणको ट्रान्सफर्मरको खरिद र तिनको गुणस्तरबारे अध्ययन गर्न सिनियर डिभिजनले इन्जिनियर ९सीडीई० राजु महर्जनको नेतृत्वमा समिति गठन गरेको हो । मन्त्रालयका सूचना अधिकारी समेत रहेका महर्जन नेतृत्वको समितिले काम थालिसकेको छ ।
त्यस्तै नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले भूमिगत तार व्यवस्थापन र त्यसक्रममा आएका गुनासाहरूको अध्ययनका लागि सञ्चालक समिति सदस्य शम्भु केसीको नेतृत्वमा अर्को समिति गठन गरेको छ ।
दुवै समिति प्राधिकरणको गुणस्तर र सेवा प्रवाहसँग सम्बन्धित छन् । नेपाल विद्युत् प्राधिकरणले ग्राहक र सेवाग्राहीको गुनासो सुन्न ११५१ को हटलाइन सेवा सुरु गरेको थियो । करिब १५ सय उजुरीमध्ये ठूलो हिस्सामा ट्रान्सफर्मर र भूमिगत तार व्यवस्थापनबारेमा गुनासो आएपछि अध्ययन गर्न समिति गठन भएको मन्त्रालयले जनाएको छ।
९सीडीई महर्जन नेतृत्वको समितिले विभिन्न ठाँउको भोल्टेज प्रवाह, बारम्बार विद्युत् आपूर्ति रोकिने समस्या (ट्रिपिङ) लगायत ट्रान्सफर्मरहरूको गुणस्तरबारे समेत अध्ययन गर्नेछ । समितिले काम थालिसकेको छ।
विद्युत् प्राधिकरणको सञ्चालक समितिले सदस्य शम्भु केसीको नेतृत्वमा गठन गरेको समितिले भूमिगत तार व्यवस्थापन र त्यसमा देखिएका समस्याबारे अध्ययन गर्ने कार्यादेश पाएको छ।
काठमाडौं उपत्यकाका केही शहरी क्षेत्रमा विद्युत् प्राधिकरणले भूमिगत रूपमा तार व्यवस्थापनको काम थालेको थियो। त्यसक्रममा गुणस्तरीय काम नभएको र जोखिम बढेको भनेर प्राधिकरणले सञ्चालन गरेको गुनासो सुन्ने हटलाइनमा बारम्बार उजुरी आएको थियो । त्यसलाई सम्बोधन गर्न अर्को समिति गठन भएको हो।
