वैशाखयता विपद्बाट १९६ जनाको ज्यान गयो

काठमाडौं। गएको वैशाख १ गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपद्का घटनामा परेर १९६ जनाको ज्यान गएको छ। यी घटनामा परेर ४ जना अझै बेपत्ता छन्।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ४ हजार ५३ वटा विपद्का घटना दर्ता भएका छन् जसबाट ५ हजार १८८ परिवार प्रभावित भएका छन् भने १ हजार २१८ जना घाइते भएका छन्।
वैशाखपछिको समय सर्पदंश विपद्को मुख्य घातक कारण बनेको छ। सर्पदंशका ७१६ वटा घटनामा ५४ जनाको ज्यान गएको छ भने ६६८ जना घाइते भएका छन्।
यस्तै चट्याङबाट २५, लेक लागेर २२, पहिरो र आगलागीबाट २०–२० जना, जनावरको आक्रमणबाट १८, बाढीबाट १४ तथा हावाहुरीबाट १३ जनाको ज्यान गएको छ । अत्यधिक वर्षा, ढुङ्गा पल्टिएर, वन डढेलो, हिउँ पहिरो र विस्फोटलगायतका घटनाबाट ९ जनाले ज्यान गुमाएका छन्।
यसैबीच आज बिहान १० बजेसम्मको पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ३४ वटा विपद्का घटना भएका छन्। यी घटनामा परेर सर्पदंशबाट १ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।
