यो सरकार कम्पास हराएको जहाजजस्तै हो, धेरै लामो जाँदैन: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन्द्र शाहभन्दा रास्वपा सभापति रवि लामिछानेमा बढी राजनीतिक परिपक्वता रहेको बताएका छन्।
साथै, उनले बालेन नेतृत्वको सरकार धेरै दिन नटिक्ने दाबी समेत गरे। सोमबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले रास्वपा सभापति लामिछाने, सभामुख डोलप्रसाद (डीपी) अर्याल र उर्जामन्त्री विराजभक्त श्रेष्ठसँग आफ्नो नियमित संवाद भइरहेको बताए।
आफ्नै क्याबिनेटमा काम गरिसकेका कारण उनीहरूलाई बुझ्न सहज भएको भन्दै प्रचण्डले सुनसरीमा हिन्दु-मुस्लिम विवाद समाधान गर्न लामिछानेले खेलेको भूमिकाको प्रशंसा समेत गरे।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले लामिछानेले आफूलाई गुन तिर्न बाँकी रहेको समेत उल्लेख गरे। लामिछानेमाथि विवाद आउँदा आफूले संसद र सार्वजनिक मञ्चबाट बचाउ गरेको, जेलमै पुगेर भेटेको र तत्कालीन महान्यायाधिवक्तामार्फत सहजीकरण गरिदिएको स्मरण गराउँदै उनले ती गुन लामिछानेले नबिर्सेको बताए।
प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीको आलोचना गर्दै प्रचण्डले सरकार विचारविहीन र अपरिपक्व बनेको आरोप लगाए।
सरकार र सत्ता साझेदार रास्वपाबिच आन्तरिक खटपट बढ्दै गएको दाबी गर्दै उनले यो सरकार दिशाहीन भई दुर्घटनाको नजिक पुगेकाले धेरै लामो समय नजाने दाबी गरे।उनले भने-यो सरकार कम्पास हराएको जहाजजस्तै हो धेरै लामो जाँदैन।
