राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। बैंकमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ‘१ महिने निक्षेप संकलन उपकरण’ मार्फत उक्त रकम संकलन गर्न लागेको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार यस निक्षेप संकलनका लागि शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणाली मार्फत आवेदन दिन सकिनेछ । यसको निष्कासन पनि आजै गरिने सूचनामा उल्लेख छ।
सूचनाअनुसार यो निक्षेप संकलन उपकरणको अवधि ३५ दिनको रहनेछ र यसको सावाँ तथा ब्याज भुक्तानी आगामी असोज २ गते हुनेछ ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ । इच्छुक संस्थाहरूले बहु–ब्याजदरमा पनि बोलकबोल गर्न सक्नेछन् ।
सो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् भने लगानीकर्ताले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा कम ब्याजदर उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ । यदि समान ब्याजदर भएमा प्रो–राटा बेसिसमा बाँडफाँड गरिनेछ ।
सूचना अनुसार संकलन गरिएको निक्षेप रकमलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् ।
तर, यसलाई वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न पाइने सुविधा छ ।
साथै, यो निक्षेपलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।
