बस र माइक्रो भ्यान दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
काठमाडौं। नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस अनियन्त्रित भई पार्किङ गरेर राखिएको ईभी माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार शुक्रबार बिहान करिब ८ः२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक छेउमा रोकिराखिएको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र ईभी भ्यान सडकबाट करिब ३०–४० मिटर तल भिरमा खसेका थिए।
दुर्घटनामा घाइते भएका पाँच जनालाई उद्धार गरी उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको छ। अस्पताल पुर्याएलगत्तै चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन्।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बस्ने अन्दाजी ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ बस्ने अन्दाजी ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।
दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने अन्दाजी २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० बस्ने अन्दाजी ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने अन्दाजी ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्।
तीनै घाइतेको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ।
दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
