बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ।
प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा यो सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र सोही पालिकाको धौलापहिरामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा पनि भू्स्खलनका कारण ले घोराही–थबाङ सहिद मार्ग पनि दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ ।
यता, काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोक लगाइएको छ।

