एमआरपीभन्दा बढी मूल्य असुल्दै आएको धरहरा टपरी म.म. विभागको कारबाहीमा
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं.२२ स्थित धरहरा क्षेत्रमा सञ्चालित धरहरा टपरी मम पसल कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ उल्लंघन गरेको ठहर्याउँदै ५ हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागले उपभोक्ताहरुको उजुरीपछि गरिएको अनुगमनमा पसलले खरिद बिल राख्ने नगरेको पाइएपछि ऐनको दफा ३५(घ) बमोजिमको कसुरमा दफा ३९ (१) (क) बमोजिम जरिवाना गरेको हो ।
पसल विरुद्ध लामो समयदेखि उपभोक्ताहरुले गुनासो जनाउँदै आएका थिए। बोत्तलमा अंकित सरकारले तोकेको अधिकतम खुद्रा मूल्य (एमआरपी) १६ रुपैयाँ रहेकोमा पसलले सोही बोत्तल ३० रुपैयाँमा बिक्री गर्दै आइरहेको थियो, जुन तोकिएको मूल्यभन्दा झन्डै दोब्बर हो।
मूल्यमा देखिएको यस भिन्नताबारे प्रश्न उठाउने ग्राहकहरुलाई पसल सञ्चालकहरुले धम्की दिने गरेका थिए। यसबाहेक पसलले बिग्रिएको ममसमेत बिक्री गर्ने गरेको भन्दै खाद्य सुरक्षासँग जोडिएको गम्भीर गुनासो पनि उपभोक्ताहरुले राखेका थिए, जसले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष जोखिम पुर्याउन सक्ने चिन्ता व्यक्त गरिएको थियो।
उपभोक्ताको उजुरी र त्यसपछिको जाँचबुझका आधारमा खरिद बिल नराखेको कसुरमा पसललाई कानुन बमोजिम जरिवाना तिराइएको हो।

