२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ता

काठमाडौं। नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको बुलेटिनअनुसार देशका ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन् जसमा ४३ जना घाइते भएका छन्।
प्राधिकरणको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार देशका ४३ जिल्लामा विपद्का ५२ वटा घटना भएका छन्। ती घटनामा परी १३ जनाको ज्यान गएको छ भने ५ जना अझै बेपत्ता छन्। विपद्मा परी ४३ जना नागरिक घाइते भएका छन् भने ५ वटा चौपायाको क्षति भएको छ।
विपद्का कारण देशभर १२ ठाउँमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने अनुमानित ६ लाख ४७ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ। विपद् प्रतिकार्य तथा उद्धारका लागि देशभर २६१ जना प्रहरी जनशक्ति परिचालन गरिएको र २ जनाको सकुशल उद्धार गरिएको छ।
स्याङ्जाको पञ्चमूलमा सबैभन्दा बढी १५२.९ मि.मि.वर्षा
जल तथा मौसम विज्ञान विभागकाअनुसार आज बिहान ८:४५ बजेसम्म कुल ४१४ वटा वर्षामापन केन्द्रमध्ये ३४५ वटा केन्द्रमा वर्षामापन भएको छ। जसमा सबैभन्दा बढी वर्षा स्याङ्जा जिल्लाको पञ्चमूल केन्द्रमा १५२.९ मिलिमिटर रेकर्ड भएको छ।
यसैगरी २४ घण्टामा अधिकतम तापक्रम चितवनको रामपुरमा ३८.० डिग्री सेल्सियस र सबैभन्दा कम मुस्ताङको लेतेमा २०.६ डिग्री सेल्सियस मापन गरिएको छ।
