लघुवित्त पीडितको पक्षमा आन्दोलन गर्दा पक्राउ परेका तीन जेनजी अभियन्ता २२ दिनपछि छुटे,सरकार झुक्न बाध्य
काठमाडौं। लघुवित्त पीडितहरूको पक्षमा प्रदर्शन गर्ने क्रममा माइतीघर मण्डलाबाट पक्राउ परेका तीन जना जेनजी अभियन्ताहरू २२ दिनपछि रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतको आदेशबमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनही ५ हजार रुपैयाँ धरौटी बुझाएर उनीहरू मंगलबार थुनामुक्त भएका हुन्। रिहा हुने अभियन्ताहरूमा अजय सोडारी, प्रकाश बम र सुनिल बिक रहेका छन्।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका उनीहरूसँग गत साउन २० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही १ लाख रुपैयाँ धरौटी माग गरेको थियो। तोकिएको रकम बुझाउन नसकेपछि उनीहरूलाई कारागार चलान गरिएको थियो।
प्रशासनको उक्त निर्णयविरुद्ध उनीहरू बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदलत पुगेका थिए। सर्वोच्च अदालतले साउन २५ गते उचित र मनासिब धरौटी तोक्न आदेश दिएपछि जिल्ला प्रशासनले धरौटी घटाएर जनही ५० हजार रुपैयाँ माग गरेको थियो। तर, उक्त रकमसमेत तिर्न नसकेपछि उनीहरू थुनामै बस्न बाध्य भएका थिए।
त्यसपछि उनीहरूले जिल्ला प्रशासनको निर्णयविरुद्ध जिल्ला अदालत काठमाडौंमा पुनरावेदन निवेदन दर्ता गराएका थिए। जिल्ला अदालतले पुनरावेदनमाथि सुनुवाइ गर्दै धरौटी रकम घटाएर जनही ५ हजार रुपैयाँ तोक्न आदेश दिएको थियो।
अदालतको पछिल्लो आदेशअनुसार धरौटी रकम बुझाएर थुनामुक्त भएपछि अभियन्ता अजय सोडारीले शान्तिपूर्ण आन्दोलन गरेकै भरमा सरकारले आफूहरूविरुद्ध प्रतिशोध साँधेर थुनामा राखेको आरोप लगाए।
