चुनावी तालमेलको मोडालिटी टुंग्याउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । स्थानीय निर्वाचन बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्न लागेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सफल बनाउनेबारे विषयमा छलफल हुने बताए ।
उनले भने, ‘गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल भएको हुन्छ। चुनावी तालमेलको मापदण्डबारे पनि निष्कर्षमा पुग्छौँ।
गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।
देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्रह छ ।
तर गठबन्धनभित्र तालमेलको मापदण्डबारे सहमति भइसकेको छैन । यस्तै उच्चस्तरीय राजनीतिक संयन्त्र र निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक पनि आजै बस्दै छ ।
