हरेक व्यवसायीबाट ठगिँदै विदेशी पर्यटक,के हेर्दैछ सरकार ?
अनुसा थापा
विदेशी पर्यटक नेपालीका लागि पाहुना हुन्। घुमफिर गर्न, नेपाल हेर्न, यहाँको संस्कृति बुझ्न उनीहरु आउँछन् । हामीहरु ‘अतिथि देवः भव’ भन्छौं। विदेशी पर्यटकको सुरक्षा गर्नु सरकारको दायित्व हो । मुलुकमा जति धेरै विदेशी पर्यटक भित्रिन्छन्, त्यति नै फाइदा हुन्छ । विदेशी मुद्रा भित्रिन्छ, अर्थतन्त्रमा टेवा पुग्छ।
त्यसैले विदेशी पर्यटकलाई नेपाल ल्याउन र यहाँ बस्ने वातावरण बनाउन सरकारदेखि लिएर व्यापारीसम्मले हातेमालो गर्नुपर्छ। तर, विदेशी भन्नेबित्तिकै व्यापारीहरुको दिमागमा ठग्ने सोच आउँछ। विमानस्थल ओर्लेदेखि नै विदेशीहरु ठगिन थाल्छन्। पहिले ट्याक्सीबाट ठगिन्छन्।
मीटरमा जाँदा एक हजार रुपैयाँ पर्ने बाटोमा पाँच हजार रुपैयाँसम्म लिन्छन्। होटल व्यवसायी पनि त्यस्तै। नेपालीलाई लिनेभन्दा दोब्बर शुल्क उनीहरुले विदेशीबाट उठाउँछन्। ठमेल, बौद्ध, स्वयम्भुलगायतका क्षेत्रमा मालालगायत विभिन्न सामान बेच्दै आएकाले पनि विदेशीलाई लुट्छन्।
विदेशीलाई सुविधा दिनु र राम्रो व्यवहार गर्नुको साटो ठग्नतिर व्यवसायीहरु सोचमग्न हुँदा अन्तर्राष्ट्रिय स्तरमै नेपालको नराम्रो ‘इम्प्याक्ट’ परिरहेको छ। सार्वजनिक यातायातमा पछिल्लो समय विदेशीहरु व्यापक देखिन्छ। बस, माइक्रोबसमा विदेशीहरु यात्रा गरिरहेको हुन्छन्।
उनीहरु झुण्डिएर यात्रा गरिरहेको देखिन्छ। तर, कुनै पनि नेपाली यात्रुले उनीहरुका लागि सीट छोड्दिदैनन्। विदेशीलाई सहयोग गर्नु नेपाली जनताको पनि दायित्व हो। यद्यपि, नेपाली त्यस्तो गर्दैनन्। जसले गर्दा नेपालीहरु असहयोगी भएको छवि बनेको छ। अधिकांश सहचालक र चालक अशिक्षित छन्।
उनीहरु अंग्रेजीमा बोल्न सक्दैनन्। विदेशीहरुले केही सोधे भने उनीहरु जवाफ फर्काउन सक्दैनन्। विदेशीले नक्सामा ठाउँ सोध्दा उनीहरु चुपचाप बस्छन्।
विदेशीले के सोध्यो ? उनीहरु बुझ्दैनन्। नेपाली यात्रुले सार्वजनिक यातायात चढ्नेबित्तिकै पाँच सय वा हजारको नोट दियौं भने झर्ने बेलासम्म सहचालकले फिर्ता गर्दैन्।
पटकपटकभन्दा बल्लतल्ल फिर्ता दिन्छन्, त्योपनि ओर्लिसकेपछि। नोटहरु च्यातिएका हुन्छन्। तोकिएको जति भाडा काटेर फिर्ता दिनुपर्नेमा सहचालकले कम पैसा दिन्छ। यात्रु ओर्लेर गन्न थाल्छन्, गाडी गुडाइसकेको हुन्छ। नेपालीलाई त सहचालकले यस्तो व्यवहार गर्छन् भने विदेशीलाई यिनीहरुले के गर्लान् ?
सहचालकले उनीहरुलाई पैसा फिर्ता गर्दैनन्। पर्यटक बोक्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई सय सात वटा ट्याक्सी छ। सरकारले पर्यटकको सेवासुविधालाई मध्यनजर गर्दै हरियो प्लेटको ट्याक्सीको दर्ता खोलेको थियो। २०५० सालदेखि ट्याक्सीको दर्ता बन्द छ।
ती सबै ट्याक्सी भन्सार र भ्याट छुटमा आएको हो। २०७० सालमा एयरपोर्टको पुराना ट्याक्सी फालेर सट्टापट्टामा नयाँ ट्याक्सी ल्याइयो । तर, सिण्डिकेट हटाइएन्। एयरपोर्टका ट्याक्सीमा अझैपनि सिण्डिकेट छ । विदेशीलाई सहुलियत देऊ भनेर भन्सार र भ्याट छुटमा दिइएको ट्याक्सीले लुटतन्त्र मच्चाएको छ।
एयरपोर्टबाट गौरीघाट गएको दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँ ट्याक्सी चालकले लिन्छन्। ठमेलसम्म गएको त पाँचदेखि सात हजार। यता, होटलबाट समेत ट्याक्सी चालकले कमिशन लिएका हुन्छन्। एयरपोर्टमा चल्ने ट्याक्सीमा मीटर छैन्। कालो प्लेटको ट्याक्सीको पनि सबै प्रदेशमा दर्ता बन्द छ।
नयाँ दर्ता नखोेलेको दशकौं बितिसकेको छ। पर्यटक बोक्नका लागि छुट्टै पर्यटक बस पनि छन्। सरकारले भन्सार र भ्याट छुटमा हरियो प्लेटको पर्यटक बस दिएको हो। ट्राभल्सहरुले विदेशीबाट आफूखुसी भाडा लिइरहेका छन्। जुन होटलले कमिशन दिन्छ, त्यही होटलमा ट्राभल्सले पर्यटक लगेर राखिदिन्छ।
पर्यटक बोक्ने बसहरुले नेपाली यात्रु पनि बोकिरहेको छ। कलंकीबाट पोखरा गएको एक हजार दुई सय रुपैयाँ लिन्छ। जुन सरासर गैरकानुनी हो। हरियो प्लेटको बसले नेपाली बोक्न पाउँदैन्।
यो विदेशीका लागि मात्रै हो। पर्यटक बस पनि पेट्रोल–डिजेलबाट चल्छ। नेपाल आयल निगमले भाडा घटाउँदा–बढाउँदा सार्वजनिक यातायातको भाडामा हेरफेर हुन्छ।
तर, पर्यटक बसको भाडामा हुँदैन्। न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पर्यटक बसको भाडा तोक्छ न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले।
ट्राफिक प्रहरीले पनि नेपाली यात्रु बोक्ने पर्यटक बसलाई कारबाही गर्दैनन्। नेपाली यात्रु बोकेर पर्यटक बस हुँइकिरहेको हुन्छ, ट्राफिक टुलुटुल रमिता हेरेर बस्छ।
विदेशी बोक्ने गाडी एकदमै मँहगो हुन्छ। भन्सार र भ्याट छुटमा ल्याउँदा पनि यातायात व्यवसायीले एउटा गाडीमा ५० लाखदेखि एक करोड रुपैयाँसम्म लगानी गरेका हुन्छन्। तर, यातायात व्यवसायीले लगानीको राजश्व तिर्दैनन्। एउटा पर्यटक बसले महिनाको लाखौं कमाउँछ।
तर, खोइ त राजस्व ? पर्यटक बसहरुले राजश्व कुनै पनि विषयमा राजश्व तिरेका छैनन्। भाडाको गाडी घरेलु र कम्पनीमा गएर पञ्जीकरण हुनुपर्छ। यद्यपि, पर्यटक बसको हकमा यो व्यवस्था पनि लागु भएको छैन्। विदेशी नेपालमा आउनु भनेको सबैका लागि फाइदाको कुरा हो।
राज्यलाई मात्र होइन्, व्यापार–व्यवसायीलाई पनि फाइदाजनक छ। विदेशीलाई ठग्ने र अपहेलना गर्ने काम कसैले गर्नुहुँदैन्। सरकारले नेपालमा धेरैभन्दा धेरै विदेशी पाहुना भित्र्याउन निकै प्रयास गरिरहेको छ। सरकारको यो कदममा व्यवसायीहरुले पनि साथ दिनुपर्छ।
देश चलाउनका लागि विदेशी मुद्राको निकै नै खाँचो हुन्छ। विदेशीहरुसँगै विदेशी मुद्रा पनि नेपाल भित्रिन्छ। त्यही मुद्राले सरकारले सामानहरु खरिद गर्ने हो। तर, यो कुरा नेपालीले बुझिरहेका छैनन्। होटल व्यवसायीले विदेशी पर्यटकलाई सहुलियतमा राम्रो सेवासुविधा दिनुपर्यो।
अन्य व्यवसायीले पनि उनीहरुलाई ठग्न भएन्। नेपाल र नेपाली सहयोगी रहेछन् भनेर उनीहरुले आफ्नो देशमा प्रचार गरुन्। आफ्नो देशको नागरिकलाई नेपाल घुम्नै पर्ने कारणहरु उनीहरुले देखाउन सकुन्। यहाँबाट फर्किदाँ कुनै पनि विदेशीले तीतो अनुभव लिएर जान नपरोस् भनेर सबैले आफ्नो ठाउँबाट प्रयास गरौं ।
नेपाली अभिभावकले आफ्ना सन्तानलाई राम्रो ज्ञान दिन सकेका छैनन्। न विद्यालयले नै सिकाउन सकेका छन्। पढाइ घोकन्त भयो, अभिभावक आफ्नै कामकाजमा व्यस्त छन्। सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक, अपाङ्ग सीट छुट्याइएको हुन्छ। कलेजको ड्रेसमा रहेका विद्यार्थीहरु ती सीटमा बसेका हुन्छन्,ज्येष्ठ नागरिकचाँहि उभिएको।
ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरु चढ्नेबित्तिकै उनीहरु सुतेको नाटक गर्न थाल्छन्। विद्यार्थी त यस्ता छन्, अरुको के कुरा गर्नु ? विदेशीलाई अहिले व्यापारीहरुले कमाउने माध्यम बनाएका छन्। जुन सरासर गलत छ। विदेशीका लागि सरकारले हरेक क्षेत्रमा सहुलियतको व्यवस्था गर्नुपर्छ।
एकचोटि आएको विदेशी फेरि फर्केर आउने वातावरण बनाउन जरुरी छ। हामीले पाहुनालाई भेट्नेबित्तिकै हात जोड्छौं । उनीहरुको सत्कार गछौं। विदेशी पाहुनाको चाँहि किन नगर्ने ? उनीहरुलाई एयरपोर्टमा सम्मानको व्यवस्था मिलाऔं । नेपाल ओर्लिनेबित्तिकै उनीहरुले राम्रो अनुभव बोटुलुन्।
विदेशीचाँहि आओस् भन्ने अनि मतलब नगर्ने ! यस्तो पाराले कसरी चल्छ। विदेशी पाहुनाको सुरक्षा, खान बस्नको व्यवस्था सरकारले मिलाइदिनुपर्छ। विदेशी भन्नेबित्तिकै ठग्ने व्यापारीहरुको नियत सरकारले बदल्नुपर्छ। पछिल्लो समय बाटोमा माग्न बस्नेको संख्या ह्वात्तै बढेको छ।
भुरादेखि बुढासम्म बाटोमा माग्न बसेका छन्। माग्न बसेका बालबच्चाहरु नेपालीकै खुट्टामा झुत्तिछन्। विदेशीलाई पनि त्यस्तै गर्छन्। जसले गर्दा विदेशीको मनमा नेपाल माग्ने देश रहेछ भन्ने परिरहेको छ। सरकार जनताको अभिभावक हो। हरेक नागरिकको जिम्मा सरकारले लिनुपर्छ।
बाटोमा माग्न बसेकालाई खान,लाउन,बस्न,शिक्षा र स्वास्थ्यको व्यवस्था सरकारले गर्नुपर्छ। सबै काम देशको प्रधानमन्त्रीले मात्र गर्ने होइन्। मुलुकमा सयौं जनप्रतिनिधि छन्,तिनको के काम ? सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरे भने मुलुक परिवर्तन हुन बेर लाग्दैन्।
राज्य सञ्चालकसँग भिजन छैन्,जसले गर्दा ठगहरु सल्बलाएका छन्। सरकार अझैपनि आँखा चिम्लेर बस्ने हो भने मुलुकमा थप बेतिथि मौलाउँछ।
