सहकारीमा देखापरेका समस्याको समाधान गर्न गृहमन्त्री श्रेष्ठको छलफल

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीमा देखापरेका समस्याको समाधान गर्न सम्बन्धित निकायहरुसँग छलफल गरेका छन् ।
बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री श्रेष्ठले सहकारीमा देखापरेका समस्याको समाधान गर्न विषयमा छलफल गरेका हुन् ।
बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक जनशक्ति व्यवस्थापन गरी उपसमिति मार्फत् तोकिएको सहकारीको चल, अचल सम्पत्तिको लेखाजोखा, लिलाम आदी गर्ने र निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न पहल गर्ने निर्णय गरेको छ । यस्तै बचत तथा कर्जा सुरक्षण कोष छिटो सञ्चालनका पहल गर्ने पनि बैठकले निर्णय गरेको छ।
यस्तै बैठकले नियामक निकाय गठन आदेश मार्फत् गठन गरी कार्य सुरु गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार गृहमन्त्री श्रेष्ठले सहकारीमा देखिएका समस्या समाधान गर्न अग्रसरता लिएका हुन्।
