माओावादी केन्द्रीय कमिटीको आकार घटाउन प्रस्ताव
काठमाडौं। नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार घटाउने तयारी गरेको छ। उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा बनेको पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको हो।
विधान मस्यौदा समितिका सदस्य गणेश साहका अनुसार समितिको उक्त प्रस्तावमा शनिबारदेखि बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने छ।
माओवादीमा अहिले ७ सयभन्दा धेरै केन्द्रीय सदस्यहरू छन्। गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय कमिटी घटाएर दुई अंकको बनाउने बताएका थिए।
यस्तै समितिले प्रदेश, जिल्ला, पालिका र वडा समितिहरूलाई कार्यकारिणी बनाउने पनि प्रस्ताव गरेको छ। केन्द्रीय विभागहरू घटाउने र एउटा विभागमा बढीमा १५ जना सदस्य राख्ने सहमति विधान मस्यौदा समितिले गरेको छ।
